काठमाडौँ। हिन्दु धर्ममा चन्द्र र सूर्यलाई देवताको रूपमा पुज्ने प्रचलन रहेको छ।
वास्तुशास्त्रअनुसार घरमा विभिन्न धातुका प्रतिमूर्ति स्थापना गर्दा नकारात्मक ऊर्जालाई हटाई वातावरणलाई सौहार्द बनाउने उल्लेख छ। आजको लेखमा तामाको सूर्य प्रतिमाको महत्व र यस सम्बन्धमा ध्यान दिनु पर्ने कुराहरूबारे चर्चा गरौँ।
वास्तुअनुसार तामा र सूर्यको महत्व बुझ्न पहिले सूर्यको प्रकाश र तामाको लाभबारे बुझ्न जरुरी हुन्छ। हिन्दु पौराणिक कथाअनुसार सूर्यलाई देवताको रूपमा पुजिन्छ। उनलाई जीवन र उर्जा प्रदाता, शक्ति, साहस र बुद्धिको प्रतीकको रूपमा मानिन्छ। जसले ब्रह्माण्ड चक्रलाई नियन्त्रण गर्ने विश्वास गरिन्छ।ज्योतिषशास्त्रमा सूर्यलाई ग्रहहरूको राजा मानिन्छ।
त्यस्तै तामालाई पवित्र धातु मानिन्छ। तामा र सूर्य दुवै औषधीय गुणले समेत भरिपूर्ण छन्। यसको प्रयोग विभिन्न रोगको उपचारका लागि पनि हुने गर्छ। आयुर्वेदमा शरीरको प्रतिरक्षा क्षमता बढाउनका लागि तामा र सूर्यको प्रकाशको प्रयोग हुने गर्छ। तामामा शुद्धिकरण गर्ने क्षमता हुने गर्दछ। यसले पानी तथा हावामा भएको धुलोलाई आफूमा समाहित गरेर पानी तथा वायुमण्डललाई समेत शुद्ध पार्दछ।
घरमा तामाबाट बनेको सूर्यको प्रतिमा राख्नुका फाइदाहरूः
ग्रहका राजा सूर्य हुन् भने सूर्यको धातु तामा हो। त्यसैले जुन घरमा सूर्यको प्रकाश ठीकसँग पुग्दैन वा कुण्डलीमा सूर्यको स्थिति ठीक छैन सो घरमा तामाको सूर्यको आकृति स्थापना गर्न वास्तुविद्हरू सल्लाह दिन्छन्। तामाको सूर्य प्रतिमाले सकारात्मक प्रभावलाई बढाउँछ र हानिकारक प्रभावहरूलाई हटाउँछ।
घरमा सूर्यको प्रतिमा राख्नाले सकारात्मक ऊर्जा, जीवन शक्ति र आत्मबलका बढाइ घरबाट नकारात्मकता, अन्धकार र बाधाहरू हटाउने र परिवारमा सुख-समृद्धि कायम गर्न भूमिका खेल्ने मान्यता रहिआएको छ।
सूर्यले नेतृत्व, साहस र आत्मविश्वास जस्ता गुणहरूलाई प्रतिनिधित्व गर्ने हुँदा यसको प्रभावले परिवारका सदस्यहरूमा यी गुणहरू आउँने विश्वास छ। त्यसैगरी वास्तुशास्त्रमा सूर्यलाई आध्यात्मिक ज्ञान र उच्च चेतनासँग पनि जोडिएको छ। यसो हुँदा तामाको सूर्य प्रतिमा घरमा राख्दा आध्यात्मिक वृद्धि, आन्तरिक शक्ति र बुद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ।
यसले व्यक्तिहरूलाई आत्म-खोजको यात्रामा लाग्न, ज्ञान प्राप्त गर्न र सांसारिक संलग्नकहरूबाट मुक्ति प्राप्त गर्न समेत प्रेरित गर्दछ।