Suryajyoti Life Introduces e-Loan Service and ‘Suryajyoti Cares Digital Card’

ललितपुर। जीवन बीमा क्षेत्रमा पहिलोपटक सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल प्रविधिमार्फत ‘e-कर्जा’ सुविधा र ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ सार्वजनिक गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले ललितपुरमा आयोजित एक समारोहका बीच यी दुई सेवाको औपचारिक सुरुवात गरे।

कार्यक्रममा खत्रीले e-कर्जा र डिजिटल कार्डसम्बन्धी मापदण्ड, प्रयोग विधि र फाइदाबारे विस्तृत जानकारी दिँदै कम्पनीले ग्राहकलाई केन्द्रमा राखेर नयाँ–नयाँ प्रविधिमैत्री सेवा ल्याउँदै आएको बताए। बीमा दाबी भुक्तानीलाई कम्पनीले सधैँ पहिलो प्राथमिकतामा राखेको उनले स्पष्ट पारे।

सूर्यज्योति लाइफले जीवन बीमा पॉलिसी अन्तर्गत प्राप्त गर्न सकिने कर्जालाई अनलाइनमार्फत सहज र सरल बनाएको छ। बीमा जारी भएको मितिबाट तीन वर्ष पुरा भएको र सो अवधिमा बीमा शुल्क नियमित तिरेका ग्राहकले अब अधिकतम ९० प्रतिशतसम्म कर्जा लिन सक्ने व्यवस्था गरिएको छ।

यसअघि शाखामा फारम भरेर १–२ दिनभित्र मात्र सम्भव हुने यो सेवा अब डिजिटलमार्फत जुनसुकै स्थान र समयमा लिइन सकिने भएको छ। सुरुमा रु. ५०,००० सम्मको कर्जा सूर्यज्योति मोबाइल एप प्रयोग गरी खल्ती वालेटमा प्रत्यक्ष प्राप्त गर्न सकिने सुविधा सुरू गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ नामक सुविधा पनि सुरू गरेको छ। डिजिटल कार्ड सूर्यज्योति मोबाइल एप मार्फत योग्य बीमित र अभिकर्ताहरुलाई प्रदान गरिनेछ। यस कार्डको माध्यमबाट कम्पनीसँग सम्झौता भएका अस्पताल, स्वास्थ्य परीक्षण केन्द्र, होटल, शैक्षिक संस्था र डिपार्टमेन्ट स्टोरलगायतका सेवाप्रदायकबाट छुट सुविधा प्राप्त गर्न सकिनेछ।

सुविधा उपयोग गर्नका लागि बीमित वा अभिकर्ता सूर्यज्योति मोबाइल एपमा दर्ता भएको र कम्पनीद्वारा तोकिएको मापदण्ड पुरा गरेको हुनुपर्नेछ।

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सूर्यज्योतिले सुरु गरेको डिजिटल सेवा अत्यन्तै प्रशंसनीय रहेको प्रतिक्रिया दिए। फिङ्गर टिपबाट लोन लिने मेकानिज्म नेपालमा पहिलोपटक सुरु गर्नु अत्यन्तै सराहनीय छ, उनले भने, यसले बीमितमा बीमा कम्पनीप्रतिको विश्वास झनै बलियो बनाउनेछ।

कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले पनि नवीनतम प्रविधि र नवप्रवर्द्धनप्रति बीमा प्राधिकरणको समर्थन रहने बताएका थिए।

हाल सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी रु. ५०१ करोड रहेको छ। कम्पनीको कुल लगानी रु. ४,३६० करोड, जीवन बीमा कोष रु. ३,८०३ करोड, जारी बीमालेख संख्या ३२ लाख २३ हजार ९६१ र प्रशिक्षित अभिकर्ता संख्या १ लाख २ हजार १०० रहेको छ। कम्पनीले देशभर १७४ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले आगामी दिनमा पनि नयाँ प्रविधिमैत्री सेवा ल्याउने प्रतिबद्धता जनाउँदै सहभागी सबैलाई धन्यवाद दिए।

प्रतिक्रिया