काठमाडौं। उद्योगी व्यवसायीहरूले भन्सार जाँचपास प्रक्रियालाई सहज र झन्झटरहित बनाउन सरकारलाई आग्रह गरेका छन्। उनीहरूले अवैध व्यापार नियन्त्रण र भन्सार सहजिकरणबाटै राजस्व संकलन गर्न सकिने भन्दै व्यापारमा सहजीकरणको आवश्यकता औंल्याएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरूले तयारी वस्तु, कच्चा पदार्थ तथा मध्यवर्ती वस्तुका भन्सार दर पुनरावलोकन गर्न सरकारलाई सुझाव दिएका छन्।
कार्यक्रममा बोल्दै अर्थ सचिव डा. रामप्रसाद घिमिरेले भन्सारको प्रमुख उद्देश्य राजस्व संकलन नभई व्यापार सहजीकरण र निर्यात प्रवर्द्धन भएको बताए। "देशको आर्थिक विकासमा निर्यातको ठूलो भूमिका छ। हामी उद्योगी व्यवसायीलाई सहजीकरण गर्न नीतिगत सुधारमा काम गरिरहेका छौं," उनले भने।
डा. घिमिरेले नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग रहेकोले दुई देशबीचको व्यापार सहजीकरणका लागि छिट्टै नेपाल-भारत "कस्टम म्युचुअल एग्रिमेन्ट" कार्यान्वयनमा आउने जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सारका गतिविधिले उद्योग व्यापारमा प्रत्यक्ष प्रभाव पर्ने भन्दै निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न भन्सार प्रशासनले भूमिका खेल्नुपर्ने बताए। "आयातमा आधारित अर्थतन्त्र भएको मुलुकमा भन्सारले राजस्व मात्र होइन, आपूर्ति श्रृंखला व्यवस्थापनमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ," उनले भने।
ढकालले क्योटो कन्भेन्सन र टीएफएको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार संसदमा टेबुल हुन लागेको नयाँ भन्सार विधेयकको प्रशंसा गर्दै प्रविधि र भौतिक पूर्वाधारको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भन्सार प्रशासनले व्यवसाय प्रवर्द्धनका लागि काम गरिरहेको र अन्तर्राष्ट्रिय नीतिलाई कार्यान्वयन गर्दै प्रविधिको उच्चतम प्रयोग गरिरहेको जानकारी दिए। उनले आर्थिक अनुशासन कायम राख्न सबैले इमानदारीपूर्वक योगदान दिनुपर्ने धारणा राखे।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरूले भोगेका समस्याबारे प्रस्तुति दिएका थिए। व्यवसायीहरूले भन्सार सुधार, सहजिकरण, र व्यावसायिक वातावरणको सुधारका लागि सरकारलाई विभिन्न सुझावहरू दिएका छन्।
अन्तर्राष्ट्रिय भन्सार दिवस जनवरी २६ मा मनाइँदै छ। यस वर्ष दिवस "दक्षता, सुरक्षा र समृद्धिका लागि आफ्नो प्रतिबद्धतामा भन्सार सञ्जाल" भन्ने नाराका साथ मनाउने तयारी भइरहेको छ।