घनश्याम विश्वकर्मा बने ग्लोकल टीन हिरो नेपाल २०२४

काठमाण्डौ।  रुकुमका १९ वर्षीय कार्यकर्ता घनश्याम विश्वकर्माले "ग्लोकल टीन हिरो २०२४" को उपाधि जित्न सफल भएका छन्। विश्वकर्मा बाल अधिकार, मानसिक स्वास्थ्य, जलवायु न्याय, र बाल विवाहको विरुद्ध आठ वर्षभन्दा बढी समयदेखि सक्रिय रुपमा काम गर्दै आएका छन्। उनले राष्ट्रिय किशोरकिशोरी बाल नेटवर्क नेपालका अध्यक्षको रुपमा बाल अधिकारको वकालत गर्दै विभिन्न सामाजिक मुद्दाहरूमा महत्त्वपूर्ण भूमिका निभाएका छन्।


ग्लोकल टीन हिरो नेपालले विगत दशकदेखि किशोरकिशोरीहरूको सृजनात्मकता, उत्साह, र योगदानलाई सम्मान गर्दै आएको छ। यसले किशोरकिशोरीहरूलाई ग्लोबल र लोकल डोमेनमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्नेमध्ये एक महत्त्वपूर्ण मञ्च बनेको छ।

घनश्याम विश्वकर्माको कामले बाल अधिकारको क्षेत्रमा मात्र नभई, जलवायु न्याय र बाल विवाहको मुद्दामा पनि समाजमा सकारात्मक प्रभाव पारेको छ। उनले बाल यौन शोषण र जलवायु न्यायका विषयमा शैक्षिक कार्यशालाहरू सञ्चालन गर्दै आएका छन्, जसले युवाहरूलाई आफ्ना अधिकारका लागि वकालत गर्न आवश्यक ज्ञान र उपकरणहरू प्रदान गरेको छ। कोभिड–१९ महामारीको समयमा, उनले बालबालिका र परिवारहरूको सुरक्षा गर्नका लागि आवश्यक जानकारीहरू प्रसारण गरेका थिए।

यस वर्षको ग्लोकल टीन हिरो नेपालका लागि छानिएका अन्तिम ६ प्रतिस्पर्धीहरूमा आशिष पन्थी, निश्चल भट्टराई, पूर्णिमा तिम्सिना, सजनी शर्मा, र श्रीजय सुवेदी रहेका थिए। फाइनलिस्टहरूको उपलब्धि, पहल, योगदान, र कामको प्रभावका आधारमा निर्णायकहरूले उनीहरूलाई छानेका थिए।

यो अवार्ड कार्यक्रम काठमाण्डौको द् सोल्टी होटलमा आयोजना गरिएको थियो, जसमा शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

निर्णायकहरूमा ग्लोकल प्रालिका डाइरेक्टर आशिष तिवारी, कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर चन्द्रिका कालिया, डब्लु डब्लु यफका कन्ट्री डाइरेक्टर डा. घनश्याम गुरुङ, युएन वुमनकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज पाचेको, गोल्छा गु्रप प्रा लिमिटेडकी डाइरेक्टर सीमा गोल्छा, तथा युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो रहेका थिए।

ग्लोकल टीन हिरो नेपालले युवा नेतृत्व र सामाजिक प्रभावको सम्भावनाहरूलाई उजागर गर्दै, किशोरकिशोरीहरूलाई आफ्नो समुदायमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्दै आएको छ।

#glocalteenhero2024

प्रतिक्रिया