पुसको पहिलो साताबाट हेटौँडा सिमेन्टले उत्पादन पुनः सुरु गर्ने तयारी

काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ। व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीका अनुसार उद्योगका क्लिनिकलर मेसिनसहितका उपकरणहरूको मर्मत कार्य अझै जारी छ, जसका कारण उत्पादन सुचारु गर्न समय लागेको हो।

उद्योगले यसअघि मङ्सिरमै उत्पादन सुरु गर्ने योजना बनाए पनि उपकरण मर्मत नसकिँदा तिहारपछि उत्पादन पुनः सुरु गर्ने लक्ष्य तय गरिएको थियो। मर्मत कार्य तीव्र गतिमा भइरहेको र पुस महिनाको पहिलो साताभित्र उत्पादन सुरु हुने उद्योग व्यवस्थापनले जानकारी दिएको छ।

भण्डारीले उद्योगलाई चाहिने करिब ४०० मेट्रिक टन कोइलाको मौज्दात रहेको र थप कोइला खरिद प्रक्रिया पनि अघि बढिसकेको बताए। आर्थिक अभावका कारण यसअघि दुई महिना बन्द रहेको उद्योगले भदौ महिनाको तेस्रो सातादेखि ६५ हजार बोरा सिमेन्ट उत्पादन गरिसकेको थियो।

२०३३ सालमा स्थापना भएको हेटौँडा सिमेन्ट उद्योगले २०४३ सालदेखि उत्पादन सुरु गरेको हो।

प्रतिक्रिया