माबिलुङ्ग इनर्जीको आईपीओमा आजदेखि आवेदन खुला

काठमाडौँ। माबिलुङ्ग इनर्जी लिमिटेडले आज असार २२ गतेदेखि प्रथम चरणको प्रारम्भिक निष्कासन (आईपीओ) तथा बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

जसमध्ये प्रथम चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र १ लाख ५० हजार ४७१ कित्ता आईपीओ नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरेको हो।

आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा संखुवासभाको मादी नगरपालिकाको वडा नम्बर ७, ८, ९ र चैनपुर नगरपालिकाको वडा नम्बर २, ३, ७, ८, ९ मा स्थानी बसोबास गर्ने नागरिकले आवेदन दिन सक्नेछन्।

यसमा आवेदन दिंदा घटीमा १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा ५० हजार कित्तासम्म माग गर्न सकिनेछ। आवेदन दिने अन्तिम मिति साउन ४ गते रहेको छ। आयोजना प्रभावितबाट पूर्ण आवेदन प्राप्त नभएमा असार १९ गतेसम्म लम्बिन सक्नेछ तर वैदेशिक रोजगारीमा रहेकाको अवधि लम्बिने छैन।

यसमा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका साथै ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, हिमालयन बैंकको मादी नगरपालिका शाखा, लक्ष्मी सनराइज बैंकको खादबारी शाखा र आयोजनाको पावरहाउस रहेको कार्यालयबाट आवेदन दिन सकिनेछ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय र मेरो शेयर प्रयोग गरी आवेदन दिन सकिनेछ।

प्रथम चरणको आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ जारी गरिने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया