पोखरामा २० औं फेवा नव वर्ष महोत्सव–२०८२ को भव्य तयारी हुँदै

काठमाडौँ।  नेपाली संस्कृतिको संरक्षण, परम्परागत नेपाली खाना प्रवर्द्धन तथा आन्तरिक एवं बाह्य पर्यटनको विकास गर्ने लक्ष्यसहित पोखरामा ‘२० औं फेवा नव वर्ष महोत्सव २०८२’ को तयारी तीव्र रूपमा अगाडि बढाइएको छ।  

महोत्सव आउँदो चैत ३० गतेदेखि वैशाख १ गतेसम्म फेवा ताल किनारको करिब ३ कि.मी.लेकसाइड सडक क्षेत्रमा भव्य रूपमा आयोजना गरिने महोत्सव संयोजक तथा होटल संघ पोखराले जानकारी दिएको छ।  

होटल संघ पोखराको आयोजनामा हुने यो महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। 

नेपाली खानाको प्रदर्शनी तथा प्रवर्द्धनः

नेपाली नयाँ वर्षलाई उल्लासमय रूपमा मनाउने उद्देश्यले सांस्कृतिक झाँकीसहित महोत्सवको शुभारम्भ गरिनेछ। 

महोत्सवमा नेपाली खानाको प्रदर्शनी तथा प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइनेछ। साथै, महोत्सव अवधिमा पोखराका विभिन्न होटलहरूले प्रकाशित दर रेटमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने छन्। 

अन्य पर्यटन व्यवसायी तथा प्रतिष्ठानहरूले पनि छुट र सहुलियत दिने अपेक्षा गरिएको छ। नेपाल पर्यटन बोर्डको सहयोगमा ‘जाउँ है पोखरा’ अभियान अन्तर्गत संघले पूर्वी नेपालका विभिन्न प्रमुख शहरहरूमा प्रचारप्रसार गरी स्थानीय बासिन्दालाई महोत्सवमा सहभागी हुन आमन्त्रण गरिसकेको छ।

महोत्सवको अवसरमा ‘घुमघाम पोखरा’, ‘शैक्षिक भ्रमण पोखरा’, र ‘मधुमास पोखरा’ जस्ता विशेष प्याकेजहरू घोषणा गरिएका छन्।

पोखरा महानगरपालिकाले सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष’ घोषणा गरेको सन्दर्भमा आयोजना गरिन लागेको यो महोत्सवले भ्रमण वर्षको लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। 

महोत्सवलाई सफल बनाउन २१ भन्दा बढी समिति गठन गरी विभिन्न क्षेत्र संयोजकहरू तोकिएका छन्।

महोत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता, पर्यटक दौड, ब्याडमिन्टन कप, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रत्यक्ष प्रस्तुति, लोक दोहोरी कार्यक्रम तथा कृषि तथा हस्तकला सामग्री प्रदर्शनी आकर्षणका रूपमा रहनेछन्।

महोत्सवमा कुन कुन संस्थाहरूको सहभागिता रहला? 

यस महोत्सवको मुख्य प्रायोजक गोर्खा बुअरी रहेको छ भने सह–प्रायोजक बरुण बेभरेज लिमिटेडको पेप्सी रहेको छ। यसका साथै, बन्दीपुर केवलकार लिमिटेड, फोन पे, अन्नपूर्ण केबलकार लिमिटेड, टोकला चिया लगायतका प्रतिष्ठानहरू प्रायोजकका रूपमा रहेका छन्। 

बीमा साझेदारका रूपमा प्रभु इन्सुरेन्स कम्पनी रहेको छ भने प्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिका रहेका छन्।   

महोत्सव सफल बनाउन होटल संघ नेपाल, पोखरा पर्यटन परिषद, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न व्यवसायिक प्रतिष्ठानहरूको सहकार्य रहेको छ। 

नेपाली नयाँ वर्ष २०८२ लाई हर्षोल्लासका साथ मनाउन सम्पूर्णलाई महोत्सवमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

प्रतिक्रिया