आफ्नो अभिव्यक्तिबारे ओली अन्कन्ट्रोल

माघ १६ , काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुरुदेखि नै निष्ठाका साथ राजनीति गरेको बताएका छन् । 

आफ्नो अभिव्यक्तिमा अन्कन्ट्रोल मिसाइल प्रहार भए पनि ठिक ठाउँमा ताकेर हान्ने गरेको ओलीको भनाइ थियो । ओलीले संसद वा बाहिर कुनै पनि ठाउँमा आफूले दिएको अभिव्यक्ति देश र जनताप्रतिका समर्पणभावमा केन्द्रित रहेको बताए । 

मंगलबार काठमाडौंमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले आफ्ना अभिव्यक्ति अन्कन्ट्रोल हुने गरे पनि विचार प्रवाहमा भने कहीँ पनि त्रुटि नभएको जिकिर गरे । ओलीले लोकतन्त्रलाई नेताहरुले मागी खाने भाँडा बनाउँदा त्यसको टिकाउ नहुने गरेको स्पष्ट पारे । उनले लोकतन्त्रको विकल्प लोकतन्त्रै हुने भएकाले राजनीतिलाई आफूले सोहीअनुसार अघि बढाउने काम गरिरहेको बताए । 

‘राजनीति लोकतन्त्रका लागि चाहिने हो । वास्तवमा राजनीति के का लागि चाहिन्छ भन्दा लोकतन्त्रका लागि चाहिन्छ । लोकतन्त्र केलाई चाहिन्छ ? जनतालाई चाहिन्छ, समाजलाई, देशलाई,'ओलीले भने, 'अनि देशका लागि काम गर्दैन, समाजका लागि काम गर्दैन । जनताका लागि काम गर्दैन । दुई–चार नेताको ठगी खाने भाँडो हुन्छ लोकतन्त्र भने त्यो लोकतन्त्र फेरि टिक्दैन । लोकतन्त्रको विकल्प फेरि लोकतन्त्र नै हुन्छ ।' 

ओलीले आफ्ना अभिव्यक्तिमा केही सावधानीको आवश्यकता भएको पनि आफूले पछिल्लो समय महसुस गरेको बताए । 

प्रतिक्रिया