पाथिभरा केवलकार परियोजनाको अवरोधप्रति निजी क्षेत्रको ध्यानाकर्षण, बन्द हडताल रोक्न आग्रह

काठमाडौं। माघ २२ - नेपालका तीन प्रमुख निजी क्षेत्रका संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै पाथिभरा (मक्कुम्लुङ) केवलकार परियोजनामा भइरहेको अवरोधप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन्। उनीहरूले बन्द हडताल जस्ता गतिविधिहरू तत्काल रोक्न आग्रह गर्दै यस्ता अवरोधले लगानीमैत्री वातावरण विथोल्ने चेतावनी दिएका छन्।

संयुक्त विज्ञप्तिमा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा भइरहेको आन्दोलनले शैक्षिक, आर्थिक, तथा सामाजिक जनजीवन अस्तव्यस्त बनेको उल्लेख गरिएको छ। निजी क्षेत्रले नेपालका पूर्वाधार विकासमा ठूलो लगानी गरिसकेको भन्दै यस्तो अवरोधले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नकारात्मक सन्देश जाने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

पर्यटन क्षेत्रमा निजी क्षेत्रले अर्बौं रुपैयाँ लगानी गरिसकेको र हजारौं नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको अवस्थामा पाथिभरा केवलकार परियोजना महत्त्वपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ। यस परियोजनाले यात्रुहरूलाई सुरक्षित, छिटो, र सुविधाजनक यात्रा उपलब्ध गराउनुका साथै धार्मिक, सांस्कृतिक, तथा साहसिक पर्यटन प्रवर्द्धन गर्नेछ। साथै, कृषि तथा हस्तकलाको प्रवर्द्धन गर्दै स्थानीय स्तरमा व्यवसाय तथा रोजगारीका अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ।

विज्ञप्तिमा स्थानीय तह र स्थानीय बासिन्दाहरू केवलकार परियोजनालाई समर्थन गरिरहेको जनाइएको छ। तर, बाह्य हस्तक्षेपसहित निर्माण कार्यमा भइरहेको अवरोधलाई निजी क्षेत्रले दुःखद मात्र नभई नेपालमा विकास कार्य रोक्ने प्रयासको रूपमा लिएको उल्लेख गरिएको छ।

विकास विरोधी गतिविधिले देशको पूर्वाधार विकासमा नकारात्मक असर पार्ने र विदेशी लगानीकर्तालाई समेत हतोत्साहित गर्ने भएकाले सम्बन्धित सबै पक्षलाई सकारात्मक सोच राख्न अपिल गरिएको छ। निजी क्षेत्रले समस्याको समाधान वार्ताबाट खोज्नुपर्ने भन्दै केवलकार परियोजनालाई सहज रूपमा अघि बढाउन आग्रह गरेको छ।

यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघका कोशी, गण्डकी, र कर्णाली प्रदेशका सभापतिहरूले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै निजी क्षेत्रले विकासका लागि गरिरहेका प्रयासहरूमा अवरोध हटाउनुपर्ने बताएका छन्।

कोभिड महामारीपछि अर्थतन्त्रलाई पुनरुत्थान गर्ने प्रयास भइरहेका बेला पाथिभरा केवलकार परियोजनामा अवरोध हुनु दुःखद भएको महासंघका प्रदेश समितिहरूले जनाएका छन्। स्वीकृत प्रक्रिया पूरा भइसकेपछि बाह्य हस्तक्षेप हुनुले स्वदेशी तथा विदेशी लगानीलाई नै असर गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

निजी क्षेत्रका व्यवसायिक समूहहरूले पर्यटन पूर्वाधार निर्माण गर्दै दशौं हजारलाई रोजगारी प्रदान गरिरहेको र सरकारलाई राजस्वमार्फत ठूलो योगदान गरिरहेको अवस्थामा पाथिभरा केवलकार परियोजनामा देखिएका अवरोधले देशमा लगानीमैत्री वातावरण खस्काउने चेतावनी दिइएको छ।

निजी क्षेत्रले सबै सरोकारवालालाई सकारात्मक सोच राखी परियोजनालाई सहज रूपमा अघि बढाउन आग्रह गरेको छ।


प्रतिक्रिया