काठमाडौँ। काठमाडौँ बाहिरका विभिन्न ८ विमानस्थलमा आज राति १० बजेसम्म आन्तरिक उडान सञ्चालन हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले राति १० बजेसम्मका लागि उडान खुलाउने निर्णय गरेको हो।
प्राधिकरणका अनुसार काठमाडौँ बाहिरका ८ विमानस्थलमा उपकरणको सहायताले गरिने उडान इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै खुलाएको हो। यसअघि वर्षा कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान साँझ ६ बजेसम्मका लागि खुलाइएको थियो। आइएफआर उडान हुने विमानस्थलमा रातिसम्म उडान सञ्चालन गरिएको हो। साँझ ६ बजेसम्म काठमाडौँबाहिराका छ विमानस्थलमा मात्रै उडान खुलाइएको थियो। ६ बजेपछि काठमाडौँबाट सबै आइएफआर उडानयोग्य विमानस्थलमा उडान सञ्चालन गर्न दिने निर्णय भएको छ जनाएको छ।
आइएफआर विधिबाट चन्द्रगढी, विराटनगर, सिमरा, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा उडान भइरहेको विमानस्थलले जनाएको छ। अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ।
यो उडानले दुई दिनदेखि गन्तव्यमा पुग्न नपाएका सयौँ यात्रु लाभान्वित हुनेछन्। आन्तरिक उडान प्रभावित हुदाँ विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको बाक्लो भीड बढेको छ। उडान खुलेपछि ठूलो सङ्ख्यामा यात्रुहरू विमानस्थल पुगेको जनाइएको छ।
प्राधिकरणले मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि सबै आन्तरिक उडान स्थगित गरेको थियो। आज दिउँसो साढे १२ बजेदेखि आन्तरिक उडान सञ्चालनमा आएको थियो। निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ आन्तरिक हवाई उडान प्रभावित भएको थियो। अन्तर्राष्ट्रियतर्फ पनि केही विमान ‘होल्ड’ र ‘डिले’ भएका थिए।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालबाट मनसुन बाहिरिने सङ्घारमा छ। नेपालमा जुन १२ मा मनसुन भित्रिएर अक्टोबर २ मा बाहिरिने भए पनि यो वर्ष मनसुन केही ढिला गरी बाहिरिने पूर्वानुमान गरिएको छ।
प्राधिकरणका सूचना अधिकारी भुलले महाशाखसँग प्राधिकरणले समन्वय गरेर हवाई उडान निर्धारण गरिरहेको जानकारी दिँदै मनसुन पूर्वबाट पश्चिमतर्फ लागिरहेकाले अहिले खासगरी काठमाडौँबाट पूर्वी भेगको ‘इनरूट वेदर’ बिग्रिएकाले उडानमा समस्या भइरहेको छ। तुलनात्मक रुपमा पश्चिम क्षेत्रमा मौसम सहज भएकाले उडान अवरोध भएको छैन।
उनले मौसममा सुधार नआएसम्म ‘भिजुअल फ्लाइट रूल्स’ (भिएफआर) उडान र उद्धार उडान बाहेकका अन्य हेलिकप्टरको उडान स्थगित गरिएको बताए। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेकाले बदली र वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar