जीबी राईको सहकारीमा रकम राख्ने एकै व्यक्तिको १२ करोडसम्म डुब्यो

पुष २० , काठमाडौँ । टेलिभिजन सञ्चालक समेत रहेका गीतेन्द्र राई (जीवी) सहकारीको अर्बौँ रकम अपचलनको आरोपपछि  प्रहरीको खोजी सूचीमा छन् । जीवी समूहले देशका विभिन्न स्थानमा सहकारी सञ्चालन गरेको छ भने सहकारीको रकम अपचलनको उजुरीपछि ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका राई फरार रहँदै आएका हुन् । 

राई समूहको पोखरामा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध प्रहरीमा ४ सय भन्दा बढी बचतकर्ताले जाहेरी दिएका छन् । ठगीकै सिलसिला राई समूहको अर्को सहकारी संस्थामा समेत देखिएको छ । हेटौँडामा मुख्यालय रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट बचतकर्ताहरुको करिब २ अर्ब ७५ करोड रुपैयाँ अपचलन भएको पाइएको हो । 

पीडित बचतकर्ताहरूले विगत डेढ वर्षदेखि बचत फिर्ता गर्न बारम्बार भनिराख्दा समेत बचत फिर्ता भएको छैन । बचत फिर्ता गर्नुको साटो स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष समेत रहेका राई यति बेला फरार छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको करिब ५ सय पीडित बचतकर्ता सदस्यहरूले आफ्नो बचत फिर्ता गराइदिन भन्दै आइतबार सङ्घीय सहकारी विभाग बानेश्वरमा उजुरी हालेका थिए । 

यस्तै काठमाडौँमा व्यावसायिक कार्यालय राखेर कारोबार गरिरहेको सहकारी संस्था प्रदेशमा बागमती प्रदेश सहकारी मन्त्रालय अन्तर्गत सञ्चालन भएकाले पीडितहरूले मङ्गलवार पर्यटन तथा सहकारी मन्त्रीलाई समेत ज्ञापन पत्र समेत बुझाएका छन् । हालसम्म जोडिएका करिब ५ सय पीडित बचतकर्ताहरूले स्वर्णलक्ष्मी सहकारीबाट करिब २ अर्ब ७५ करोड रुपैयाँ बराबरको रकम अपचलन भएको दाबी छ ।

सहकारीले एकै व्यक्तिको १२ करोड रुपैयाँसम्म फिर्ता नगरेको पीडित बचतकर्ताको भनाइ छ । शुक्रवार कालीमाटीस्थित स्वर्णलक्ष्मीको कार्यालयमा भेला भएका पीडित बचतकर्ता मध्यका एक कृष्ण परियारले आफ्नो ८७ लाख रुपैयाँ सहकारीले फिर्ता नगरेको गुनासो गरे । १५–२० वर्ष दुःख गरेर कमाएको पैसाले जोडेको घडेरी बेचेको पैसा सहकारीमा राखेको तर फिर्ता पाउन नसकेको उनले बताए । अहिले त्यही पैसा लिएर सञ्चालक फरार भएको भन्दै उनले आक्रोश पोखे । अहिले कालीमाटीको कार्यालयमा सम्बन्धित अधिकारी भेटिँदैनन् । केही कर्मचारी भए पनि उनीहरूले आफूलाई केही थाहा नभएको भन्दै पन्छिने गरेका छन् । 

कालीमाटीकै कार्यालयमा भेटिएकी अर्का  पीडित नन्दमाया श्रेष्ठले पसल गरेर जम्मा गरेको ३७ लाख रुपैयाँ सहकारीले फिर्ता नगरेको बताइन् । जीवी राईले नियम विपरीत सो सहकारीबाट समेत ग्यालेक्सीका लागि ६५ करोड रुपैयाँ लगेको बताइएको छ । अध्यक्ष राईले यसअघि पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको भेटिएको थियो ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट समेत थप  ६५ करोड रुपैयाँ हाराहारी रकम ग्यालेक्सीमा हालेको सञ्चालकबाटै जानकारी प्राप्त भएको सहकारीका सदस्य एवम् पीडित सुमन खनालले सिएफ़एन खबर लाई बताए ।

पीडितहरूले अब सङ्घर्ष समिति नै बनाएर आन्दोलनमा होमिन बताएका छन् । जसअनुसार पीडित मध्यका एक प्रचण्ड मान प्रधानको नेतृत्वमा १२ सदस्यीय विशेष पीडित सङ्घर्ष समिति बनेको छ । उक्त समितिले आधिकारिक रूपमा नै संस्था दर्ता गरेर सहकारी विरुद्ध आन्दोलनमा गर्ने र बचतकर्ताहरूको बचत फिर्ता गराउने रणनीति लिएको छ । केही दिनभित्रै आफूहरूले राईको समूहविरुद्ध सीआईबीमा उजुरी दिने तयारी रहेको सङ्घर्ष समितिका सहसंयोजक खनालले सिएफ़एन खबर लाई बताए । 

प्रतिक्रिया