काठमाडौँ । ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले “सेफ्टी फस्र्ट” तालिम सम्पन्न गरेको छ । यात्रु सुरक्षाप्रति आफ्नो प्रतिबद्धता अझ प्रस्ट पार्न फाइटब्याक नेपालसँगको सहकार्यमा सम्पन्न सो तालिममा १०० भन्दा बढी मोटरसाइकल र ट्याक्सी चालक सहभागी थिए ।
कार्यक्रम फाइटब्याक नेपालका संस्थापक विक्रान्त पाण्डेले सञ्चालन गरेका थिए । उनले चालकहरूलाई दैनिक जीवनमा देखापर्ने चुनौतीपूर्ण परिस्थितिलाई सामना गर्ने व्यावहारिक सीप सिकाएका थिए । तालिममा यात्रुलाई सम्मान र सुरक्षा प्रदान गर्ने, चालकहरुले व्यावसायिक आचरण र शिष्टाचारलाई व्यवहारमा उतार्ने, असहज वा संवेदनशील परिस्थितिमा प्रभावकारी ढङ्गले प्रतिक्रिया जनाउने जस्ता कुराहरु सिकाइएको थियो। उक्त तालिम इनड्राइभको ‘सेफ्टी फस्र्ट’ भन्ने मूल सिद्धान्तलाई जोड दिँदै इनड्राइभलाई अझ सबल र विश्वासिलो प्लेटफर्मका रूपमा स्थापित गर्न लक्षित थियो।
फाइटब्याकको बीएचभी नमुना प्रयोग गरी गरिएको छलफल, अभ्यास र व्यावहारिक सुरक्षा प्रशिक्षणमार्फत चालकहरूलाई प्रत्यक्ष काम लाग्ने सीप प्रदान गरिएको थियो । तालिम पूरा गर्ने चालकहरूले प्रमाणपत्रसहित “भेरिफाइड ड्राइभर ब्याज” पनि प्राप्त गरेका थिए । उक्त ब्याजले उनीहरूलाई आधिकारिक रूपमा इनड्राइभ प्रमाणित चालकको रूपमा चिनाउँछ ।
इनड्राइभ नेपालकी कन्ट्रि रिप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्, “सुरक्षा इनड्राइभको मिशनको मूलमा रहेको छ । प्रत्येक यात्रुले सम्मानित र सुरक्षित महसुस गरून, र प्रत्येक चालक व्यावसायिक रूपमा सशक्त बनून भन्ने हामी चाहन्छौँ । यस्ता तालिमहरूले हामीलाई सुरक्षा, विश्वास र निष्पक्षतालाई पहिलो प्राथमिकतामा राख्दै जिम्मेवार चालकहरूको समुदाय बनाउन सहयोग पुर्याइरहेका छन्।”
त्यस्तै, फाइटब्याक नेपालका फाउण्डर विक्रान्त पाण्डेले भने, “ड्राइभसँगको सहकार्य यात्रु सुरक्षाको संस्कार स्थापित गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो ।
चालकहरूलाई चेतना र व्यावहारिक सीप प्रदान गर्दा, हामी केवल दुर्घटना रोकथाममै सीमित छैनौँ, बरु सबैका लागि—विशेषतः महिला यात्रुहरूको लागि—सुरक्षित वातावरण निर्माण गर्दैछौँ ।”
समान अवसरयुक्त समाजको परिकल्पनासहित, इनड्राइभले आफ्नो प्लेटफर्ममा सुरक्षा, विश्वास र सम्मानलाई केन्द्रमा राखेको छ । यो तालिमले इनड्राइभलाई ‘सेफ्टी फस्र्ट, पिपुल पावर्ड प्लेटफर्म’ को रूपमा पुनः स्थापित गरेको छ, जहाँ चालक र यात्रु दुवै सुरक्षित र महत्वपूर्ण महसुस गर्छन्।