काठमाडौँ। घरजग्गामा कुनै पनि व्यक्तिको स्वामित्व, हक–अधिकार छ कि छैन भनेर हेर्ने सबैभन्दा ठूलो प्रमाण लालपुर्जा हो। यदि लालपुर्जा छैन् भने कुनै पनि घरजग्गामा तपाईंको स्वामित्व रहेको प्रमाणित हुँदैन।
आजको यो लेखमा लालपुर्जा हराएमा के गर्ने भन्ने बारे चर्चा गर्नेछौँ।
लालपुर्जाको सुरक्षामा एकदमै सजग हुन जरूरी छ। नत्र, तपाईंको हराएको लालपुर्जाको दुरूपयोग पनि हुन सक्छ। त्यसतर्फ बेलैमा सजग हुनु जरूरी छ।
तर, कहिलेकाहीँ सुरक्षा गर्दा गर्दै पनि ध्यान दिँदा पनि यत्तिकै लालपुर्जा हराउन सक्छ। वा, बाढी, पहिरो, आगलागी, चोरी, डकैतीजस्ता घटना हुँदा तपाईंको घरजग्गाको लालपुर्जा हराउन पनि सक्छ।
लालपुर्जा हराउँदैमा तपाईंको सम्पत्ती भने हराउने होइन। कसैले पनि सजिलै तपाईंको लालपुर्जा दुरूपयोग गरेर सम्पत्ति आफ्नो नाममा नामसारी गर्न सक्दैनन्।
लालपुर्जा हराएमा तपाईंले चिन्ता लिनु पर्दैन। केही सामान्य प्रकृयाहरु पुरा गरेर मालपोत कार्यालयबाट लालपुर्जाको प्रतिलिपि सजिलै प्राप्त गर्न सकिन्छ।
तपाईंले लालपुर्जा हराएको निश्चित हुनासाथ अविलम्ब यसको प्रतिलिपि पाउनको लागि आवश्यक प्रक्रिया अघि बढाउँदा राम्रो हुन्छ।
लालपुर्जाको प्रतिलिपि लिन आवेदन दिनुभन्दा अघि तपाईंले हराएको लालपुर्जा कहिँकतै परेको छ कि भनेर खोज्ने कोशिस गर्नुपर्छ। मेरो लालपुर्जा हराएकै हो, अब भेटिदैन भन्ने यकिन भइसकेपछि मात्र बल्ल प्रतिलिपीका लागि आवेदन दिनुपर्दछ।
तपाईंले आफ्नो घरजग्गाको कित्ता नम्बर कति हो भन्ने बारे सदावहार जानकारी राख्नु राम्रो हुन्छ। कहिलेकाहीँ लालपुर्जा हराउँदा कित्ता नम्बर थाहा भएमा प्रतिलिपि निकाल्न पनि सजिलो हुन्छ।
यदि तपाईंले घरजग्गाको कित्तानम्बर दिमागमा राख्न सक्दिन जस्तो लाग्छ भने फोटो खिचेर वा फोटोकपी गरेर घरमा सुरक्षित साथ राख्न सक्नुहुन्छ। यसो गर्दा सक्कली लालपुर्जा हराउँदा पनि फोटोकपी हेरेर कित्ता नम्बर थाहा पाउन सकिन्छ। हराएको लालपुर्जाको कित्ता नम्बर यकिन भएमा प्रतिलिपि निकाल्नका लागि प्रकृया पनि छोटो हुन्छ।
हराएको लालपुर्जाको प्रतिलिपी कसरी निकाल्ने?
यदि तपाईंलाई घरजग्गाको कित्ता नम्बर यकिन छ भने सिधै सम्बन्धित वडा कार्यालयमा गएर फलानो ठाउँको फलानो कित्ता नम्बरको घरजग्गाको प्रतिलिपी पाउँ भनी निवेदन दिन सक्नुहुने छ।
वडा कार्यालयबाट फोटो सहितको तीन पुस्ते खुलाएको सिफारिस लिएर मालपोत कार्यालयमा बुझाउनुपर्छ। जग्गाधनीको सम्पूर्ण विवरण र जग्गाको विवरण भरिएको त्यो सिफारिसको आधारमा मालपोत कार्यालयले लालपुर्जाको प्रतिलिपि दिन्छन्।
‘वडा कार्यालयको फोटो सहितको तीन पुस्ते खुल्ने सिफारिस अनिवार्य रूपमा चाहिन्छ र वडा कार्यालयबाट पनि सिफारिस लिनका लागि घरजग्गाको कित्ता नम्बर, घरजग्गा धनीको फोटो र नागरिकता भए पुग्छ।
यदि तपाईलाई आफ्नो जग्गाको कित्ता नम्बर थाहा छैन भने पनि आत्तिनु पर्दैन, त्यसको पनि समाधान छ। यदि हराएको लालपुर्जाको कित्ता नम्बर थाहा नभएमा सेवाग्राही कित्ता नम्बर पहिचान गर्न पहिला मालपोत कार्यालयमा जानुपर्ने हुन्छ। सम्बन्धित व्यक्तिको नागरिकता, सम्बन्धित जग्गाको तिरो तिरेको रसिद बोकेर मालपोत कार्यालय पुगेपछि नागरिकताको आधारमा घरजग्गा पहिचान गरेर कर्मचारीले तपाईको घरजग्गाको कित्ता नम्बर दिन्छन्।
मालपोतले तपाईंको हराएको लालपुर्जाको कित्ता नम्बर पहिचान गरेर दिँदैमा लालपुर्जाको प्रतिलिपी भने दिइहाल्दैनन्। त्यसका लागि तपाईले मालपोतले दिएको कित्ता नम्बर लिएर सम्बन्धित वडा कार्यालयमा सिफारिस लिन पुग्नैपर्ने हुन्छ।
‘वडा कार्यालयमा पुगेर प्रतिलिपी पाउँ भनेर सम्पूर्ण विवरण भरेर निवेदन दिएपछि वडाले फोटोसहितको सिफारिस दिन्छन् र त्यो सिफारिस लिएर मालपोत कार्यालयमा गएर फेरी प्रतिलिपीका लागि निवेदन दिनुपर्छ।
मालपोत कार्यालयमा गएर ‘लालपुर्जाको प्रतिलिपी पाउँ’ भन्ने निवेदनको फर्म्याट भरेर वडाको सिफारिससहित बुझाउनुपर्ने हुन्छ। जग्गा दर्ता भएको सम्बन्धित मालपोत कार्यालयमा पुगेर ‘मेरो नाममा रहेको फलानो ठाउँको फलानो कित्ता नम्बरको जग्गाको लालपुर्जा हराएकोमा प्रतिलिपी पाउँ’ भन्ने आसयको फर्म्याट भर्नुपर्दछ।
त्यो फर्म्याट भरेर नागरिकताको फोटोकपी सहित बुझाएपछि मालपोत कार्यालयका कर्मचारीले मोठ ९श्रेस्ता०सँग भिडाएर तपाईंको हराएको लालपुर्जाको प्रतिलिपी दिन्छन्।