देश विकासका लागि नविन सोचको सम्मान र अनुकूल वातावरण आवश्यक: अध्यक्ष ढकाल

काठमाडौं । माघ १६ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल ले देशको समृद्धिका लागि नवीन सोचलाई सम्मान गर्दै त्यसलाई कार्यान्वयन गर्न अनुकूल वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस उद्यमशीलता तथा साना मझौला व्यवसायी विकास विभाग द्वारा आयोजित ‘नेपालमा स्टार्टअप र साना तथा मझौला सम्मेलन’ मा बोल्दै अध्यक्ष ढकालले विश्व अहिले नवप्रवर्तनमुखी सोच तर्फ अघि बढिरहेको उल्लेख गर्दै नेपालमा उद्यमशीलता प्रवर्द्धन, लघु घरेलु तथा साना उद्योगको स्तरोन्नति, औद्योगिक तथा व्यापार पूर्वाधार विकास तथा नवप्रवर्तनमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए।

नवप्रवर्तनशील सोच भएका युवाका लागि सरकार–निजी क्षेत्र सहकार्य आवश्यक

अध्यक्ष ढकालका अनुसार नेपालमा सम्भावनाको कमी छैन, तर सम्भावना छैन भन्ने मानसिकता हटाउनुपर्ने आवश्यकता छ। उनले नीतिगत सुधार भएमा निजी क्षेत्र लगानीका लागि तयार रहेको बताउँदै हाल अनुकूल वातावरण बन्दै गएको पनि उल्लेख गरे। नवप्रवर्तनशील सोच भएका युवाहरू को उद्यमशीलता विकासका लागि सरकार र निजी क्षेत्र मिलेर अनुकूल वातावरण तयार पार्नुपर्ने उनको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप एण्ड इनोभेशन समिति/फोरम स्थापना गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिँदै अध्यक्ष ढकालले स्टार्टअप व्यवसायको वृद्धि हुँदै गएको बताए।

पहिले लगानीको समस्या थियो, अहिले बैंक, वित्तीय संस्था, भेन्चर कम्पनी तथा व्यक्तिगत लगानीकर्ताहरूको उपस्थिति छ। इच्छाशक्ति भएका उद्यमीका लागि पूँजी अभाव हुँदैन। यस अवसरको सही उपयोग गर्नुपर्छ,  देश विकासका लागि बाह्य लगानी आवश्यक भए पनि स्वदेशी पूँजी परिचालनबाटै पूर्वाधार विकास गर्न सकिन्छ, अध्यक्ष ढकाल ले भन्नु भयो । 

उनका अनुसार महासंघले १० अर्ब रुपैयाँ पूँजीको सार्वजनिक लिमिटेड कम्पनी स्थापना गरिसकेको छ, जसबाट विकासका काम अघि बढाइनेछ। उद्यमशीलताको लागि उच्च मनोबल र नीतिगत सुधार अनिवार्य रहेको र उद्यमशीलता प्रवर्द्धन गर्न नागरिकको मनोबल उच्च बनाउनुका साथै नीतिगत सुधार आवश्यक रहेको अध्यक्ष ढकालले बताए।

सोही कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ ले सरकारले पछिल्लो समय गरेका नीतिगत सुधारहरूबाट निजी क्षेत्र उत्साहित भएको बताए। अहिले अर्थतन्त्र चलायमान हुन सकेको छैन। बजारमा माग छैन तर, देशको विकास अरूले होइन, हामी आफैंले गर्नुपर्छ। सरकार वातावरण निर्माण गरिदिनुपर्छ, निजी क्षेत्र सधैं तयार छ।

कार्यक्रम उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ले नेपालको आर्थिक समृद्धिका लागि उद्यमशीलता र नवप्रवर्तनलाई जोड दिनुपर्ने बताए। कांग्रेस नेतृत्वको सरकार नीतिगत सुधार गर्दैछ। उद्योग व्यवसाय प्रवर्द्धनका लागि अझै नीति सुधार आवश्यक छ।


प्रतिक्रिया