नया दिल्ली । भारतको जयपुर-अजमेर राजमार्गमा गएराति केमिकल बोकेको ट्रक र एलपीजी ग्यास ट्यांकर आपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। ठक्करपछि आगलागी भई ४० भन्दा बढी गाडी पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
प्रत्यक्षदर्शीका अनुसार, ठोक्किएलगत्तै ट्रक र ट्यांकरबाट विष्फोटक आगलागी सुरु भएको थियो, जसले आसपासका सवारीसाधनहरूलाई समेत चपेटामा पारेको हो। घटनामा कति मानिस हताहत भएका छन् भन्ने आधिकारिक विवरण भने अझै आउन बाँकी छ।
घटनास्थलमा स्थानीय प्रशासन र दमकल टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। यस्तै, राजमार्गमा यातायात अवरुद्ध भएपछि लामो जामसमेत परेको छ। प्रारम्भिक अनुमानअनुसार केमिकल बोकेको ट्रक र एलपीजी ग्यास ट्यांकर आपसमा ठोक्किँदा केमिकल र ग्यासको मिसावटका कारण आगो तीव्र रूपमा फैलिएको हुनसक्ने जनाइएको छ।
यस दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।