काठमाडौँ। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको आठ महिनामा तीन खर्ब ९० अर्ब १८ करोड रूपैयाँ बराबरको वस्तु तथा सामान भित्रिएको छ।
गत आ.व.को आठ महिनाको तुलनामा चालु आ.व.को सोही अवधिमा आयात ११ दशमलव ४० प्रतिशत अर्थात् ३९ अर्ब ९२ करोड बढीका सामान भित्रिएका हुन्। गत आ.व.को आठ महिनामा रू ३ खर्ब ५० अर्ब २६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्र्याइएका थियो।
चालु आ.व.मा पेट्रोलियम पदार्थ, भटमासको कच्चा तेल र सवारीसाधनको आयातमा उल्लेखनीय रूपमा वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ।
कार्यालयका अनुसार चालु आ.व.को आठ महिनामा रू १ खर्ब २२ अर्ब २० करोड मूल्य बराबरको विभिन्न पाँच किसिमका पेट्रोलियम पदार्थ आयात भएको छ। गत आ.व.को सोही समयमा भने रू १ खर्ब २० अर्ब ५३ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो।
यो नाका हुँदै चालु आ.व.को आठ महिनामा रू २९ अर्ब २९ करोड मूल्य पर्ने भटमास तेलको कच्चा पदार्थ आयात भएको छ। गत आ.व. को पनि सोही समयमा भटमासको कच्चा पदार्थ रू पाँच अर्ब ७८ करोड मूल्य बराबरको भित्रिएको थियो।
चालु आ.व.को आठ महिनामा रू २२ अर्ब ५१ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री आयात भएकामा गत आ.व.को सोही अवधिमा रू २१ अर्ब ९४ करोड मूल्य बराबरको आयात भएको थियो।
चालु आ.व.को आठ महिनामा रू २१ अर्ब ६७ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ भने गत आ.व.मा रू १८ अर्ब ६५ करोड मूल्य पर्ने सोही सामान आयात भएको थियो। चालु आ.व.को आठ महिनामा रू ११ अर्ब ६८ करोड मूल्य बराबरका यातायातका सवारीसाधन आयात भएका छन्।
गत आ.व.को सोही अवधिमा रू १० अर्ब १० करोड मूल्य पर्ने सवारीसाधन आयात भएका भन्सार कार्यालयले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar