नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो, नयाँ दर आजदेखि लागू

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। निगम सञ्चालक समितिको बैठकले चैत ३ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ घटाएको हो।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशन (IOC) बाट चैत २ गते प्राप्त मूल्यअनुसार मूल्य समायोजन गरिएको हो। मूल्य घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेल १५१ रुपैयाँमा बिक्री हुनेछन्।

यस्तै, पहिलो वर्गका वितरण क्षेत्रहरू चारआली, जनकपुर, विराटनगर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १६० रुपैयाँ ५० पैसा कायम भएको छ। डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४८ रुपैयाँ ५० पैसा तोकिएको छ।

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ पर्नेछ भने डिजेल तथा मट्टितेल प्रतिलिटर १५० रुपैयाँ निर्धारण गरिएको छ। निगमले मूल्य समायोजन उपभोक्ताको हितमा गरिएको बताएको छ।


प्रतिक्रिया