काठमाडौं | वातावरणीय जागरण अभियानमा क्रियाशील अग्रणी गैरनाफामूलक संस्था मैनादेवी फाउण्डेशन (एमडीएफ) र नेपालकै चर्चित रोजगार पोर्टल तथा मानव संसाधन परामर्शदाता कुमारी जब प्रा.लि.बीच ‘काठमाडाैं ट्रयास कलेक्सन रेस (केटीसीआर) २०२५’ का लागि सहकार्य भएको छ।
पुस २७ गते आयोजना हुने यो दौड मात्र एउटा खेलकुद कार्यक्रम नभएर वातावरणीय सचेतनाका लागि एउटा अभियानको रूपमा विकास भएको छ। तीनकुनेबाट सुरु हुने यस कार्यक्रममा सहभागीहरूले जोडी बनाएर प्रतिस्पर्धा गर्नेछन् र ५ किलोमिटरसम्म फोहोर सङ्कलन गर्नेछन्।
दिगो विकास र वातावरणीय सचेतना जोड्ने प्रयास, काठमाडाैं ट्रयास कलेक्सन रेस’ ले स्वास्थ्य, समूहगत कार्यको भावना, र वातावरणीय जिम्मेवारीलाई जोड्दै हरियालीको महत्व र जलवायु परिवर्तनबारे सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
कुमारी जब प्रा.लि.का प्रबन्ध निर्देशक सन्देश भण्डारीले यस सहकार्यको उद्देश्यबारे जानकारी दिँदै भने, “हामी केवल रोजगारका अवसर सिर्जना गर्ने होइन, असल संसार निर्माण गर्ने दिशामा पनि काम गर्नुपर्छ भन्ने मान्यता राख्छौँ। यही सोचअनुरूप हामीले मैनादेवी फाउण्डेशनसँग सहकार्य गरेका छौँ। यो अभियानले नागरिक सचेतना बढाउँदै भविष्यका पुस्ताका लागि सुरक्षित वातावरण निर्माण गर्ने विश्वास लिएका छौँ।”
त्यस्तै, मैनादेवी फाउण्डेशनका अध्यक्ष केपी खनालले भने, “काठमाडाैं ट्रयास कलेक्सन रेस नेपालमा आशा र वास्तविक कामको प्रतीकका रूपमा विकसित हुँदै गएको छ। कुमारी जबसँगको सहकार्यले सफा, हराभरा र दिगो समुदाय निर्माणको हाम्रो प्रयासलाई थप बलियो बनाएको छ।”
सहभागी र स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति, यस वर्षको कार्यक्रममा ३०० भन्दा बढी स्वयंसेवक परिचालन हुनेछन् भने ३,००० भन्दा बढी नागरिकहरूको सहभागिता अपेक्षित गरिएको छ। फोहोर सङ्कलन गरी काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर व्यवस्थापन गरिने आयोजकले जानकारी दिएको छ।
कुमारी जबले एक दशकदेखि मानव संसाधन व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। रोजगार सिर्जना मात्र नभई समाजमा वातावरणीय सचेतना फैलाउने काममा पनि यस संस्थाले उल्लेखनीय योगदान दिँदै आएको छ।
पछिल्लो ३ वर्षदेखिको अभियान, मैनादेवी फाउण्डेशनले विगत तीन वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएको छ। तीनकुनेबाट बिहान ७ बजे सुरु भएर माइतीघरमा समापन हुने यस दौडमा सहभागीहरूले फोहोर सङ्कलन गर्दै वातावरणीय स्वच्छतामा योगदान पुर्याउँदै आएका छन्।
यस सहकार्यले वातावरणीय संरक्षण, दिगो विकास, र नागरिक सचेतनामा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar