संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागि पञ्चेबाजा प्रतियोगिता

काठमाडौँ।  बाल दिवसका अवसरमा स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता हुने भएको छ। सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा बालबालिका समूहको जिल्लास्तरीय पञ्चेबाजा प्रतियोगिता हुने भएको हो।

यही भदौ २८ गते बाल दिवसका अवसरमा सदरमुकामस्थित त्रिभुवन आदर्श माविको प्राङ्गणमा पञ्चेबाजा प्रतियोगिता गर्न लागिएको सामाजिक विकास कार्यालय स्याङ्जाले जनाएको छ। 

उक्त प्रतियोगिताले पुराना पुस्तामा रहेको परम्परागत सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। सीपको पुस्तान्तरणसँगै संस्कार संस्कृतिको संरक्षण गर्नका लागि पनि उपयोगी समेत हुने सामाजिक विकास कार्यालयले जनाएको छ।

समाजमा हुने उत्सव, विवाह र चाडपर्वमा पञ्चेबाजाको प्रयोगले बालबालिकाको आयआर्जनमा पनि सहयोग पुग्ने विश्वास लिइएको छ। विद्यालयस्तरबाट संस्कार संस्कृति तथा बाजागाजाको संरक्षण गर्नका लागि जोड दिने उद्देश्यले बालबालिकामाझ प्रतियोगिता आयोजना गरिएको हो। 

कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत बालबालिकाको समूह, टोल, बालक्लब, वडा कार्यालय, पालिकास्तरीय जुनसुकै पनि समूह भाग लिन पाउने व्यवस्था गरिएको छ।

उक्त  प्रतियोगितामा विद्यालय, बालक्लब, समूह, टोलबाट विद्यार्थीलाई सहभागी बनाइदिन जिल्लाका ११ वटै पालिकामा पत्राचार गरिसकिएको छ भने केही समूह सम्पर्कमा आइसकेका सामाजिक विकास कार्यालयले जनाएको छ।  प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रू ६ हजार, रू ५ हजार र रू ४ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। 

प्रतिक्रिया