काठमाडौं। नर्सरी व्यवसायी संघ नेपालद्वारा आयोजित दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ सफलता पूर्वक सम्पन्न भएको छ। चैत्र २८ गते बिहिबारदेखि ३१ गते आइतबारसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजित चार दिने मेलामा १ करोड २५ लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको छ।
मेलामा देशभरका पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि बन तथा जडिबुटी नर्सरी लगायत ७०० भन्दा बढी प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिएको थियो। साथै, कृषि औजार, मलखाद, अर्गानिक तथा रासायनिक विषादी, विउ विजन, गमला र आधुनिक प्रविधिका स्टलहरूले पनि उपभोक्ताको ध्यान तानेका थिए।
मेला संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष रविन कुमार गौतमका अनुसार, एक्स्पोले सबैथरिका बोटबिरुवा, परामर्श, र कृषिसम्बन्धी सम्पूर्ण सामग्री एकै स्थानमा उपलब्ध गराएकोले अवलोकनकर्ताको उल्लेखनीय आकर्षण रहेको थियो। “हामीले सोचेभन्दा धेरै राम्रो नतिजा पायौं,” गौतमले भने।
संघका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले नर्सरी व्यवसायको प्रवर्द्धन, स्वच्छ वातावरण निर्माण र रोजगारी सिर्जनामा एक्स्पोले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले थपे, “हामीले कृषि समृद्धिको लक्ष्यसहित यस्ता मेला निरन्तर गरिरहने छौं।”
मेला अवलोकनकर्ताको संख्या ५० हजारभन्दा बढी रहेको आयोजकको दाबी छ। मेलामा ७४ व्यवसायिक स्टल, ३ फुड स्टल, ७ अफिसियल स्टल र ५ प्रतिस्पर्धात्मक स्टल गरी कुल ८९ स्टल रहेका थिए।
मेलामा प्रवेश शुल्क सर्वसाधारणका लागि प्रति व्यक्ति १०० रुपैयाँ र विद्यार्थी तथा जेष्ठ नागरिकका लागि ५० रुपैयाँ तोकिएको थियो। पुष्प विकास केन्द्र, कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग र बागमती प्रदेश सरकार सह–आयोजकका रूपमा रहेको यस मेलामा नर्सरी व्यवसायी संघले यसअघि तिहार फ्लोरा एक्स्पो सहित चारवटा मेला सम्पन्न गरिसकेको जनाएको छ।