पुष १३ , काठमाडौँ : शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पोखरा अन्तरराष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले कारबाही गर्नुपर्ने माग गरेका छन्।
उनले अन्तरराष्ट्रिय विमानस्थल बनाउँदा कुनै दीर्घकालीन योजनाबिना विमानस्थलमा अर्बौंको लगानी गराउनेलाई कारबाही गर्न आवश्यक रहेको बताएका हुन्।
उनले बिनायोजना विमानस्थलमा अर्बौं लगानी गराउनेहरूले विमानस्थल चलेन भनेर उम्कन नपाउने उल्लेख गरे। सभापति यादवले योजना बनाउने सबै दोषीको भागिदार हुनुपर्ने बताए। उनले कुनै पनि लगानी बिनालक्ष्य, उद्देश्य र बिजनेसबिना गर्न नहुने बताए। उनले पोखरा अन्तरराष्ट्रिय विमानस्थल जस्तो दीर्घकालीन परियोजना हचुवाको भरमा बनाउनुका पछाडि स्वार्थ रहेको भन्दै समितिले अध्ययन गर्ने बताए। उनले पोखरा विमानस्थलको सम्पूर्ण फाइल समितिले मगाएको भन्दै फाइलहरूको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गरिने बताए।
उनले भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलले समेत बिजनेस गर्न नसकेको बताए। उनले पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थललाई देखाएर निजगढ विमानस्थल बनाउन नदिने खेल भइरहेको बताए। उनले विकासविरोधी र मधेशविरोधी चिन्तन भएकाहरूले काठमाडौँको पाँचतारे होटलमा बसेर निजगढ विमानस्थल बनाउन नहुने बहस गरिरहेको बताए।
उनले भने, ‘उड्डयन क्षेत्रको विकास गर्न सकियो भने नेपाल समृद्ध र सम्मानजनक ब्राण्डिङ हुन्छ। पोखरा विमानस्थल किन चलेन भनेर उनीहरूलाई सोध्नुपर्ने हो। चलेन भनेर उम्कन पाउँछ ? कारबाही गर्नुपर्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो दीर्घकालीन यति ठूलो परियोजना त हचुवाको भरमा बनाउने कुरै हुन्न। पोखरा विमानस्थलको सम्पूर्ण फाइल समितिले मगाएको छ, छानबिन हुन्छ र दोषीलाई कारबाही हुन्छ।’
उनले नेपालको हवाई उडान क्षेत्रको विकास गर्न सके मुलुकको जिडिपीमा सबैभन्दा बढी योगदान दिनसक्ने बताए। उनले नेपाललाई समृद्ध र सम्मान जनक ब्राण्डिङ र बेरोजगारीको समस्या समाधान गर्न हवाई क्षेत्रमा विकास गर्न जरुरी रहेको बताए। उनले नेपाली हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु) को कालोसूचीबाट हट्न नसकेकोप्रति दुःख व्यक्त गरे।