स्टार भारतीय क्रिकेटर शिखर धवन नेपाल प्रिमियर लिग खेल्न काठमाडौंमा

काठमाडौँ। स्टार भारतीय क्रिकेटर शिखर धवन नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका छन्। धवन कर्णाली याक्सबाट खेल्नका लागि नेपाल झरेका हुन्।

हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले उनलाई आफ्नो टोलीमा अनुबन्ध गरेको हो। शुक्रबार टोलीका मालिक झनक दत्त खनाल र सह–मालिक गृहेन्द्र घिमिरेले धवनलाई स्वागत गरे।

नेपाल आइपुग्दा निकै उत्साहित देखिएका धवनले भने, “नेपाल आएर निकै खुसी लागेको छ। कर्णाली याक्सले दिएको माया र स्वागतको लागि आभारी छु। एनपिएल खेल्न र यहाँका खेलाडीहरूसँग अनुभव साट्न तयार छु।”

कर्णाली याक्सले चार विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ। धवनसँगै वेस्टइन्डिजका चाडविक वाल्टन, हङकङका बाबर हायात, र ओमानका जिसन मक्सुद टोलीमा रहेका छन्। नेपाली खेलाडीहरूमा सोमपाल कामी, गुल्सन झा, देव खनाल, र नन्दन यादव मुख्य रूपमा छन्।

टोलीको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल छन् भने स्वस्तिमा खड्कालाई 'फेस अफ कर्णाली याक्स' र सिसन बानियाँलाई युथ एम्बेस्डर नियुक्त गरिएको छ।

३८ वर्षीय धवनले भारतको राष्ट्रिय टोलीका साथै दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद र पञ्जाव किंग्सबाट आईपीएल खेलेका छन्। विश्व क्रिकेटका सर्वाधिक सफल खेलाडीका रूपमा परिचित धवनले नेपालमा खेल्न पाएको अवसरलाई विशेष मान्दै, नेपाली खेलाडीको मनोबल बढाउने आफ्नो भूमिका रहेको बताएका छन्।

नेपाल रहँदा पशुपतिनाथ मन्दिर दर्शन गर्ने र सगरमाथा चढ्ने प्रयास गर्ने आफ्नो योजना रहेको उनले जानकारी दिए।

प्रतिक्रिया