हवाई दुर्घटनाको अध्ययनका लागि उच्चस्तरीय छानबिन समिति गठन हुने

काठमाडौँ (रासस)।  सरकारले हवाई दुर्घटनाहरूको कारणको गहिरो अध्ययन गर्न र समाधान निकाल्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार बसेको बैठकमा हवाई दुर्घटनाहरूको समीक्षा गर्दै यस विषयमा प्रतिवेदन पेश भएका तर समाधानका उपायहरू कार्यान्वयन नभएका कुरालाई ध्यानमा राखेर उच्चस्तरीय समिति गठन गर्न लागिएको जानकारी दिनुभयो।

बैठकमा मन्त्री पाण्डेले यस समिति न्यायिक क्षेत्रका व्यक्तिको संयोजकत्वमा गठन गरिने र समितिले विगतका प्रतिवेदनहरूलाई आधार मान्दै नयाँ सिफारिसहरू तयार गर्ने बताउनुभयो। यो समिति पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीशको नेतृत्वमा गठन हुने बताइएको छ। मन्त्री पाण्डेले समितिले अहिलेसम्म भएका हवाई दुर्घटनाका प्रतिवेदनहरूको पुनरावलोकन गर्दै प्रणालीगत समस्याहरू पहिचान गरी सरकारलाई आवश्यक सिफारिस दिने र त्यसलाई कार्यान्वयन गर्ने योजना रहेको उल्लेख गर्नुभयो।

मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि विस्तृत कार्ययोजना अन्तिम चरणमा पुगेको जानकारी पनि दिनुभयो। हिजो बसेको मन्त्रिपरिषद् बैठकले यी दुई विमानस्थलको व्यवस्थापनका लागि पारित गरेको कार्ययोजनालाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाइएको छ। यसमा गृह, अर्थ, परराष्ट्र, श्रमलगायतका मन्त्रालयहरूको समन्वयमा काम अघि बढिरहेको छ।

मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमनकारी र सेवाप्रदायक निकायमा विभाजन गर्ने विधेयक पनि मन्त्रिपरिषद्मा प्रस्तुत गरिएको बताउनुभयो। उहाँका अनुसार यो विधेयक पास भएपछि नेपालमा हवाई सेवा प्रभावकारी बनाउने योजना छ। पर्यटनमन्त्रीले मन्त्रालयका निकायहरूलाई प्रभावकारी बनाउन र विमान अभावका कारण देखिएका समस्याहरू समाधान गर्न व्यवस्थापकीय सुधारका प्रयास भइरहेको पनि जानकारी दिनुभयो।

पर्यटनराज्यमन्त्री अरुणकुमार चौधरीले नीतिगत र संरचनागत सुधार गरेर मन्त्रालयको कामलाई परिणाममुखी बनाउने विश्वास व्यक्त गर्नुभयो। नेपाल वायुसेवा निगमको समस्या समाधानका लागि सानोतिनो सुधारले नहुने भन्दै समग्र सुधारको प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो।

प्रतिक्रिया