नेपालमा दर्ता भयो भाइबर, स्न्यापच्याट र लिङ्क्डइन प्रक्रियामा

फागुन ३०, काठमाडौँ । सरकारको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका अनुसार नेपालमा भाइबर दर्ता भएको छ । भाइबरको मुख्य लक्जमबर्ग आधारित राकुटेन इङ्कल फागुन २४ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण भएको हो । यसले एमओआईसीटी/एसएनआर१ दर्ता नम्बर पाएको छ ।

निर्देशिकाले नेपालमा कुनै पनि सामाजिक सञ्जाल सञ्चालनमा आउनुअघि सञ्चार मन्त्रालयमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार भाइबर दर्ता भएको हो । लिङ्क्डइन र स्न्यापच्याटले पनि दर्ता हुन आवेदन दिएका छन् । सञ्चार मन्त्रालयका उपसचिव एवं सामाजिक सञ्जाल व्यवस्थापन इकाइका संयोजकले यी कम्पनीले दर्ता हुन आवेदन दिएको र कागजात नमिलेपछि थप माग गरी दर्ता प्रक्रियामा रहेको बताए ।

एसिया इन्टरनेट कोलिसन (एआईसी)ले सरकारले सार्वजनिक गरेको सामाजिक सञ्जाल व्यवस्थापन एवं साइबर सुरक्षा सम्बन्धी ऐनको मस्यौदामा राख्नका लागि मन्त्रालयलाई पत्र काट्दै केही सुझाव पठाएको पनि उनले बताए ।आफूहरूले केही मत्त्वपूर्ण सुझावसमेत एआईसीबाट प्राप्त गरेको र तिनलाई मस्यौदामा राख्ने तयारी भएको बताए ।

सामाजिक सञ्जाल दर्ता गर्ने प्रावधान हटाउन भनेर विश्वका ठूला सामाजिक सञ्जाल जोडिएको एआईसीले पत्राचार गरेको भन्ने विषय भने आफूलाई थाहा नभएको उनले बताए ।

“केही महत्त्वपूर्ण सुझाव एआईसीबाट प्राप्त भएको छ र ती समेटिएका पनि छन् । बाँकी सरकारले गरेको सामाजिक सञ्जाल दर्ता हुनुपर्ने व्यवस्था कसैले भनेर हट्ने भन्ने पनि होइन । तर, त्यस्तो पत्र मन्त्रालयसँग आएको पनि थाहा छैन,” उनले भने ।

प्रतिक्रिया