काठमाडौँ। घर सबै मानिसहरूको जीवनसँग जोडिएको चीज हो जुन जीवनभरको कमाइ नै खर्च गरेर बनाउनुपर्ने हुन्छ। आजभोली घर बनाउँन बजारमा निर्माण सामग्रीहरूको भाउन पनि बढेको पाइन्छ।
त्यसैले आजको लेखमा सस्तो र सरल किसिमले थोरै लगानीमा घर कसरी बनाउँ सकिन्छ भन्ने बारे आजको लेखमा उल्लेख गर्नेछौँ।
जति धेरै सम्पति भएपनि उसको इच्छा भने सँधै न्यूनतम मुल्यमा गुणस्तरीय सामान पाउँनु हो। घरको लागि आवश्यक सामाग्री होस वा व्यतिगत सामान सबैले कम मुल्यमा उच्च गुणस्तरीय सामानको खोजी गर्छन्। तर, मूल्य पनि कम सामान पनि राम्रो के यो सम्भव छ? घर बनाउने बेलामा पनि यस्ता कुराहरू बारम्बार आउने गर्दछन्। सबै मानिसको चाहना नै हुन्छ कम खर्चमै आकर्षक र बलियो घर बनाउने। त्यसैले यहाँ कम लागतमा घर बनाउनका लागि केहि उपायहरू बारे चर्चा गरिएको छ।
घर बनाउने सामानको छनोट
घरको सम्पूर्ण खर्चको ६५ प्रतिशत खर्च घर बनाउने सामानमा लाग्छ। यसैले, भान्सा कोठाका सामान, बिजुलीका सामान, पाइप, काठ, सिलिङमा प्रयोग गरिने सामान, सजावटका सामान र अन्य सामान सस्तोमै गुणस्तरीय पाइने ठाउँमा खरीद गर्नुपर्छ।
एउटै गुणस्तरका सामान पनि ठाउँअनुसार महँगो अर्थात भाउ फरक पर्ने भएकाले बजारभाउ बुझेर मात्र खरीद गर्नु राम्रो हुन्छ। देखिने र आवश्यक ठाउँमा महँगो सामान प्रयोग गरे पनि नदेखिने र अनावश्यक स्थानमा कम मूल्यका बलिया सामान प्रयोग गरेर खर्च घटाउन सकिन्छ।
ठेकेदारको छनोट
निजी घरहरू निर्माण गर्दा पनि नाफाखोर ठेकेदारका कारण लागत बढ्न सक्छ। त्यसैले, घरको लागतअनुसारको काम गर्न सही ठेकेदारको छनोट महत्त्वपूर्ण हुन्छ। ठेकेदार इमानदार र अनुभवी भएमा निर्माण सामग्रीको सदुपयोग हुनुका साथै व्यवस्थापन पनि राम्रो हुन्छ। यसबाट कम खर्चमै पनि गुणस्तरीय काम गर्न सकिन्छ।
नक्साको चयन
सबैभन्दा पहिला नक्सा (डिजाइन) मा ध्यान दिनुपर्छ। कत्रो, कस्तो र कुन किसिमको घर बनाउने र कति लागत लाग्ने भन्ने नक्सा बनाउँदा नै तय गर्नुपर्दछ। आफ्नो जग्गाको साइजअनुसार उपयुक्त र सबै ठाउँको सदुपयोग हुने किसिमले घरको नक्सा इञ्जिनीयरलाई बनाउन लगाउनुपर्छ।
पछि डिजाइन परिवर्तन नगर्ने
कतिपय मानिस घर बनाइसकेपछि त्यसको भित्र निर्माण गर्ने भान्साकोठा, सुत्नेकोठा, बाथरूम आदिको डिजाइन परिवर्तन गर्दछन्। यसले गर्दा डिजाइन खर्च बढ्ने, कामदार खर्च बढी हुने, घरको क्षमता फरक हुने र त्यसको निर्माण महँगो पर्छ। त्यसैले, पहिले नै सही डिजाइन छनोट गरी सोहीबमोजिम निर्माण गर्नु उपयुक्त हुन्छ।
वर्गाकार आकारमा बनाउने
अन्य घरभन्दा वर्गाकार घर बनाउँदा धेरै सस्तो पर्ने विशेषज्ञहरू बताउछन्। आयताकार घरको भन्दा वर्गाकार घरको निर्माण लागत १५ देखि २० प्रतिशतसम्म कम पर्ने इञ्जिनीयरहरू बताउँछन्। साथै, एक तलाको ठूलो घर र त्यसमा कोठाहरू बनाउनुको सट्टा दुई तलाको सानो घर निर्माण गर्दा २५ प्रतिशत लागत खर्च कम लाग्ने बताइन्छ।
वालहरू कम बनाउने
घर निर्माण गर्दा भित्रपट्टि कम सङ्ख्यामा वाल राख्दा फाइदा हुन्छ। बाहिरी वालको दाँजोमा भित्री वालको मोटाइ पनि पातलो बनाउनु राम्रो हुन्छ। यसले घरमा ठाउँ बढी उपलब्ध हुन्छ भने खर्च पनि कम लाग्छ। साथै, घरमा भर्याङका खुट्किला ज्यादा घुमाउरा तथा धेरैको सट्टा चुस्त र कम बनाउनुपर्छ। यसले लागत र ठाउँ दुवै बचत गर्न सकिन्छ भने घरलाई भद्दा देखिनबाट पनि जोगाउँछ।