म्याग्दीमा टिमुरको उत्पादन बढ्यो

Timur farming

म्याग्दी(रासस), ३ मङसिर : म्याग्दीमा यस वर्ष मसलेदार फल टिमुरको उत्पादन बढेको छ । रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र वास्नादार टिम्मुर दाल र चटनीमा मसलाको रुपमा प्रयोग हुन्छ । २५ हेक्टर क्षेत्रफलमा टिमुर खेती भएको म्याग्दीमा वार्षिक करिब छ मेट्रिकटनको हाराहारीमा टिमुर उत्पादन हुने डिभिजन वन कार्यालयले जनाएको छ । 

मौसम अनुकुल भएको र फुल खेल्ने समयमा असिना नपरेकाले यसपाली टिमुरको उत्पादन दोब्बरले बढेको हो । गत वर्ष घतानमा उत्पादन भएको एक हजार छ सय किलोग्राम टिमुर प्रतिकिलो रु तीन हजारका दरले बिक्री भएको थियो । घतान क्षेत्रमा यसपाली पनि करिब दुई हजार किलोग्राम टिमुर उत्पादन हुने अनुमान गरिएको छ । किसानहरु टिमुर टिपेर सुकाउन व्यस्त छन् । 

मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटलका साथै जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुने गरेको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा परिक्षण गरेर उपभोग योग्य भएको प्रमाणित गरेर टिमुरलाई विदेश पठाउने गरिएको उद्यमी सागर बानियाले बताउनुभयो । 

पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारको रुपमा लगाएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको छ । काँडाधारी रुख हुने भएकाले टिम्मुरको फल टिप्न दुःख हुन्छ । काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा बिरुवा नै नासिने खतरा बढेको छ । 

प्रतिक्रिया