नाडा र नाडाका प्रादेशिक एशोसिएशनविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

चितवन । मंसिर २१ गते, २०८१, चितवनको जगतपुरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले अटोमोवाइल क्षेत्रका समसामयिक विषयमा छलफल गरेको हो।

कार्यक्रममा १४ वटा विषयमा विस्तृत छलफल भएको थियो। विशेषगरी, नाडाको संरचना र विधान सुधार, सदस्यतालाई डिजिटलाइज्ड बनाउने, खुला सिमानाका कारण व्यवसायमा परेको प्रभाव, पुरानो स्टकको समस्या, भन्सार मूल्याङ्कनको चुनौती, सेकेन्ड ह्यान्ड अटो पार्ट्सको व्यवस्थापन, आर्थिक मन्दीको असर, र डिलर तथा आयातकर्ताबीचका समस्या लगायतका विषयमा विचार विमर्श गरियो।


चितवन अटोमोवाइल्स एशोसिएशनद्वारा आयोजित अटो एक्स्पोको तयारीबारे पनि जानकारी साझा गरिएको थियो। कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष डा. ध्रुव थापाले अटोमोवाइल व्यवसायको हालको चुनौती र समाधानका उपायबारे विशेष चर्चा गरे।

सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरी, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्लसहित केन्द्रीय कार्य समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। चितवन अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष कुलबहादुर क्षेत्री र अन्य प्रदेश प्रतिनिधिहरू गरी कुल ३९ जनाको सहभागिता रहेको थियो।

कार्यक्रम नाडाका सदस्य सुनिल रिजालले सञ्चालन गरेका थिए। यस प्रकारका छलफलले नाडा र प्रदेश एशोसिएशनबीचको सम्बन्ध थप सुदृढ हुने नाडाले विश्वास लिएको छ। यस्ता कार्यक्रमहरू नाडाले निरन्तर आयोजना गर्दै आएको छ।

#NADA

प्रतिक्रिया