०८४ कुरिँदैन, गठबन्धन भत्काएर भए पनि निकम्मा सरकार फालिन्छ : ओली

माघ ४, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् ।

उनले अहिले देश बर्बाद हुँदै गएको बताए । उनले मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने बताउँदै बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि आफूले सरकार सञ्चालन गर्ने आशय व्यक्त गरे ।

अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप समेत लगाए । उनले अहिलेको सत्ता गठबन्धनका नेताहरु भ्रष्टाचारी, कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको समेत बताए । उनले देश अहिले अप्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपा एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने बताए । मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको समेत उनले बताए ।

‘हाम्रो देश अहिले अलि अफ्ठ्यारो स्थितिमा छ । सबै क्षेत्रबाट हामीले देशलाई यस अफ्ठ्यारो स्थितिबाट जोगाउनुपर्नेछ,’ ओलीले भने, ‘हामी मिसन ०८४ मा छौँ । मिसन ०८४ मा हामीले हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बढाउने भनेका छौँ । खेलकुद क्षेत्रमा पनि हामीले ५१ प्रतिशत भन्दा बढी खेलाडी हाम्रो पक्षमै पार्नेछौँ । हाम्रो पक्षमा उत्पादन गरेको हुनुपर्छ । हाम्रो पक्षमा बढाएको हुनुपर्छ ।’

अध्यक्ष ओलीले वर्तमा सत्ता गठबन्धन नेताहरु घाँटीमात्रै नजोडिएको भन्दै शरीर पनि जोडिएर बसेको बताए ।

प्रतिक्रिया