गाँजा मिसाएर केक बेचेको आरोपमा पक्राउ

पुष २२ , काठमाडौँ ।  प्रहरीले गाँजा मिसाएर केक बेचेको आरोपमा काठमाडौँ महानगरपालिका–२९ स्थित घट्टेकुलोमा बास्दै आएका विशन मानन्धरलाई पक्राउ गरेको छ । उनलाई पुस २० मा घट्टेकुलोबाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले सिएफ़एन खबर लाई बताए ।

इन्स्टाग्रामलाई लागुऔषध मिसिएको केक बेच्ने प्लेटफर्म बनाएका विशनले अन्य केकभन्दा महंगोमा ‘होम डेलिभरी’ दिने गरेका हुन् । मःम प्याक गर्ने प्याकेटमा केक डेलिभरी गरेर बेच्ने मानन्धरले प्रतिप्याकेट ८ सय रुपैयाँमा बेच्ने गरेको लागुऔषध नियन्त्रण ब्युरोले गरेको अनुसन्धानबाट थाहा भएको छ । अन्य केकभन्दा उनले प्रति प्याकेट गाँजा मिसाएको केलाई ३ सय रुपैयाँ महंगो लिने गरेको एसपी जोशीले जानकारी दिए ।

इन्स्टाग्राममा आरोपीले ‘ब्याम्ब डट उङ नेपाल’ नामको अकाउण्ट बनाएका थिए । त्यहाँ ६१४ जना उनको पेजको फलोअर थिए । फलोअरहरु नै गाँजा मिसाएको केक खरिद गर्ने ग्राहक हुन् ।

युट्युबाट केक बनाउन सिकेका २६ वर्षीय मानन्धरले मफिन पनि बेच्ने गरेका थिए । गाँजा बनाएको मफिनलाई प्रतिगोटा २२५ रुपैयाँ लिने गरेको थाहा भएको छ ।  

आरोपीको केक कारखानाबाट प्रहरीले ३ केजी ७५४ ग्राम गाँजा र १२१ ग्राम धुलो बनाएको गाँजा बरामद गरेको छ । इन्स्टाग्राममा विशनले गाँजाको मेन्यु नै राख्ने गरेका थिए । मेन्यु हेरेर अर्डर गर्न सकिने आइटम थिए–‘द इपिफेन्सी ब्रेड, ह्यापी कप्स, बज लाइटइयर, नास्टी क्यान्डी ।’ ती सबै गाँजा मिसावट गरिएका केक आइटम हुन् । केक अर्डर आएपछि उनले इनड्राइभमार्फत होम डेलिभरी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

विशन मानन्धरले एक वर्षदेखि केक बनाउँदै आएका थिए । उनले किशोराबस्थालाई लक्षित गरेर केक बेच्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बर्थडे पार्टीमा त्यस्तो केक प्रयोग हुनसक्ने एसपी जोशीले बताए ।

आफ्ना सन्तानलाई बर्थडे पार्टीमा पठाउँदा निगरानी गर्न अभिभावकलाई प्रहरीले आग्रह गरेको छ । ब्युरोका एसपी जोशी भन्छन्–‘वर्थडेमा यस्ता केक मगाएर खान सक्छन् अभिभावकले निगरानी गर्न जरुरी छ ।’

मानन्धरले गाँजा मिसाएर केक बेच्न गरेको सुराक पाएपछि प्रहरीले ६ महिनादेखि त्यसबारे अनुसन्धान गरिहेका थिए । ६ महिनापछि उनलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले सिएफ़एन खबर लाई बताए । 

प्रतिक्रिया