नेपाल–थाइल्याण्ड संयुक्त वाणिज्य परिषद गठन हुने, थाई लगानी सहज बनाउन महासंघको पहल

काठमाडौं। नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद (Joint Business Council) गठन हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेड का अध्यक्षबीच बैंककमा भएको भेटवार्तामा परिषद गठनको सहमति भएको हो।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुल सहित दुवै देशका पदाधिकारीबीच भएको छलफलमा महासंघले परिषद गठनको प्रस्ताव राखेको थियो। अध्यक्ष ढकालले परिषदले दुवै देशबीच निरन्तर संवाद, सहकार्य र व्यापारिक अवसरहरूको खोजीका लागि महत्वपूर्ण प्लेटफर्मको काम गर्ने जानकारी दिए।

“नेपाल लगानीकर्ताहरूका लागि अपार सम्भावना बोकेको भूमि हो। संयुक्त वाणिज्य परिषद गठनको पहलले साझेदारीलाई अझ सुदृढ बनाउनेछ,” अध्यक्ष ढकालले भने। उनले नेपालमा लगानीमैत्री कानुनी संरचना निर्माण भइसकेको भन्दै थाई लगानी सहज बनाउने महासंघको प्रतिबद्धता समेत दोहोर्याए।

अध्यक्ष ढकालले थाइल्याण्डका व्यवसायीहरूलाई नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा संयुक्त लगानी गर्न आमन्त्रणसमेत गरे। साथै, उनले थाई व्यवसायीलाई नेपाल भ्रमण गरी सम्भावनाहरूको प्रत्यक्ष अवलोकन गर्न आग्रह गर्दै थाई सरकारसमक्ष नेपाली नागरिकका लागि अनअराइवल भिसा प्रक्रिया अगाडि बढाउन पनि पहल गर्न आग्रह गरेका छन्।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले संयुक्त वाणिज्य परिषदमार्फत दुवै देशको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले नेपालमा लगानीको वातावरण सहज बनाउन सरकारसँग सहकार्य गरिने बताए।

परिषद गठन र आवश्यक प्रक्रिया अघि बढाउन महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र जोइन्ट फरेन चेम्बर अफ कमर्श इन थाइल्याण्डकी अध्यक्ष विवेक लिज्याण्ड लिइरभाग (Vibeke Lyssand Leirvag) लाई जिम्मेवारी दिइएको छ।

थाई चेम्बर अफ कमर्श बोर्ड अफ ट्रेडका अध्यक्ष अंगुबोल्कुलले महासंघको पहलप्रति सकारात्मक धारणा राख्दै आपसी सहकार्यका लागि तयार रहेको बताए। उनले नेपाली नागरिकका लागि अनअराइवल भिसा प्रक्रिया सहज बनाउने विषयमा थाई सरकारसँग छलफल गर्ने बताए।

भेटमा महासंघका उपाध्यक्ष हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कार्यसमिति सदस्य पशुपतीदेव पाण्डे, थाई चेम्बरका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो।

यसअघि २०२४ अप्रिल २४ मा नेपाल–कतार संयुक्त वाणिज्य परिषद गठन गर्ने सहमति भएको थियो भने उक्त परिषद्को पहिलो अध्यक्षस्तरीय बैठक गत अक्टोबर २ मा कतारको राजधानी दोहामा सम्पन्न भएको थियो।

यस्तै बुधबार बैंककमा प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्रा को उपस्थितिमा नेपाल उद्योग महासंघ र थाई चेम्बर अफ कमर्शबीच आपसी सहकार्य र व्यापार अभिवृद्धिका लागि समझदारीपत्रमा हस्ताक्षरसमेत भएको थियो।


प्रतिक्रिया