काठमाडौँ। हामी मानव जीवनको सबैभन्दा ठूलो सपना भनेको आफ्नो एउटा सुन्दर घर हुनु हो। यो कुरामा सायदै दुईमत नहोला।
हामीले एउटा घर बनाउन जीवनभर आफ्नो सारा रगत पसिना बगाएर जम्मा गरेका हुन्छौं। अनि त्यसरी बनेको घर के तपाइँ क्षणभरमै भताभुङ्ग भएको देख्न सक्नु हुन्छ? अझ हाम्रो जस्तो भूकम्पिय जोखिम भएको देशमा त त्यो कुरा सम्झिँदा मात्रै पनि मनमा चिसो पस्छ र चिन्ता बढ्न थाल्छ। त्यसैले घर बनाउँदा एकदमै बलियो र दिगो अर्थात सुरक्षित बनाउन आवश्यक छ।
घरको बलियो र दिगोपना भने त्यसको पिलरमा निर्भर हुन्छ। सामान्यतया घरलाई बलियो र दिगो बनाउन बालुवा, पानी, सिमेन्ट र गिट्टी सहितको कंक्रिटको समिश्रणलाई फलामे छड प्रयोग गरी बनाएको खम्बा जस्तो आकारको एक मात्र आधारलाई नै “पिलर” भन्ने गरिन्छ। पिलर घरको आकार अनुसार फरक फरक हुने गर्दछ जस्तैः बर्गाकार, गोलाकार , आयातकार वा षड्भुजाकार।
तसर्थ पिलर राखेर घर बनाउंदा यी १० अत्यन्तै महत्वपूर्ण कुराहरूलाई ध्यान दिनुहोस्ः
१. पिलर बनाउन मुख्यतयाः PPC सिमेन्ट,बालुवा, गिट्टीका साथै TMT छडको प्रयोग गर्नुपर्दछ। TMT छडले कंक्रिटलाई अस्थिपञ्जर सरी काम गर्दछ।
२. घरको आकार र प्रकृति हेरेर पिलरको संख्या निर्धारण गर्नु पर्दछ। घर ठूलो वा फराकिलो आकारको हुँदा सोहीअनुसार अधिकतम ४.५ मि को दुरीमा एउटा पिलर पर्ने गरि घर निर्माण गर्नुपर्दछ। पिलरहरू बीचको दुरी एकैनासको नहुँदा भवनको भारबहन क्षमतामा पनि फरक पर्नसक्छ जसले गर्दा भवन असुरक्षित हुन्छ।
३. पिलर बनाउँदा प्रयोग गरिने छड कम्तिमा पनि ८ मिमिको हुनुपर्छ।
४. ३ तल्ला सम्मको आवासीय घरमा १२/१२ को पिलर हुनुपर्दछ तर, यदि तल्लाको संख्या ५ वा ६ भए १२/१२ मा बनेको पिलरले उक्त घरको भारलाई थेग्न नसक्ने हुदाँ जोखिम बढ्छ।
५. पिलरको स्थान घरको आर्किटेक्चरल डिजाइन अनुसार निर्धारण गरिन्छ। पिलर लाई एकै लाईनमा सिधा हुने गरी राख्नु पर्दछ। पिलर बाङ्गो भएमा घरको गाह्रो पनि बाङ्गो हुन गई जोखिम हुन सक्ने र घरको सुन्दरतामा समेत असर पर्दछ।
६. पिलरको जडान बिम संग हुने हुँदा पिलरको चौडाई बिमको भन्दा ३ इन्च बढी राख्नुपर्दछ।
७. पिलर र बिम जडानगर्दा बिमको तल्लो भाग पिल्लरको छेउबाट २ फीट पर,बिमको लम्बाईको बिचको एक चौथाई भागमा नपर्ने गरी जडान गर्नुपर्दछ भने माथिल्लो भाग जडान गर्दा बिमको लम्बाई को बिचको एक तिहाइ भागमा मात्र जडान गर्नु पर्दछ।
८.बिम र पिलरको जडानमा रिंगको प्रयोग,जडान भएको ठाउं देखि ४/४ इन्चको दुरीमा २ फिट सम्म राख्नु पर्दछ भने अन्य ठाउँमा ५/६ इन्चको दुरीमा राख्नु पर्दछ। रिंगको टुप्पोलाई भने पिलरको भित्रि भागमा ४५° कोणमा घुमाइ “U” आकारमा मोड्नु पर्दछ त्यसैगरी बिमको डण्डीको बाहिरी टुप्पोलाई पिलरको डण्डीभित्र “L” आकारमा मोड्नुपर्दछ।
९. पिलरका डण्डीहरु एक आपसमा जडान गर्दा बिमदेखि १.५-२ मिटर तल माथी छोडी मात्र जडान गरिनु पर्दछ। जोडिएका भाग डण्डीको ६० गुणा मोटो हुनु पर्दछ। पिलरका सबै डण्डीहरू जोड्दा एकै ठाउँमा नभई जोर्नी छल्दै जोड्नु पर्दछ। डण्डीको जोर्नीहरूमा ४/४ इन्चको दुरीमा रिंगको प्रयोग गर्नुपर्दछ।
१०. भवनको सम्पूर्ण भार पिल्लर हुँदै जग सम्म रहने हुँदा भूकम्पीय भार समेत पिलरमा हुन्छ अतः पिलरको जगलाई टाई बिमले पनि जोड्नु पर्दछ।
यस्ता कुराहरूलाई ध्यान दिई पिलरको सुरक्षाको निम्ति ढलानगरेको २४ घण्टा पछि मात्र फर्मा खोलि निरन्तर ७ दिन सम्म पानी हाली क्युरिंग गर्नु पर्दछ जसले गर्दा कंक्रिटले छडमा बलियो पकड बनाउन मद्दत गर्दछ र घर सुरक्षित र दिगो रहन्छ।