काठमाडौँ। वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आ.व.को पाँच महिनामा रू ९२ करोड ३ लाख ३६ हजार मूल्य पर्ने ४८२ जीप, कार र भ्यान आयात भएका छन्।
गत आ.व.को पाँच महिनाका तुलनामा चालु आ.व.को सोही अवधिमा सङ्ख्याको आधारमा ३८ दशमलव १३ प्रतिशत र राजस्वको आधारमा १६ दशमलव ४३ प्रतिशतले सवारीसाधनको आयात घटेको हो।
गत आ.व.को सोही अवधिमा भने रू १ अर्ब २० करोड १४ लाख २ हजार मूल्य पर्ने ७७९ वटा जीप, कार र भ्यानको आयात भएको थियो। ती सवारीसाधन आयात हुँदा कार्यालयले रू २ अर्ब ८० करोड ९१ लाख राजस्व सङ्कलन गरेको थियो।
इन्धनबाट चल्ने जीप, कार र भ्यानको मात्रै नभएर वीरगञ्ज नाका हुँदै भित्रिने चारपाङ्गे विधुतीय सवारीसाधनको पनि आयात घटेको भन्सारको तथ्याङ्कले देखाएको छ।
चालु आ.व.को पाँच महिनामा यो नाका हुँदै रू १४ करोड ७८ लाख ६ हजार मूल्य पर्ने ९७ विधुतीय जीप, कार र भ्यानको आयात भएको छ।
गत आ.व.को पाँच महिनाको तुलनामा चालु आ.व.को सोही अवधिमा विधुतीय सवारीसाधनको सङ्ख्याका आधारमा आयात ५९ दशमलव ७ प्रतिशत र राजस्व सङ्कलनका आधारमा भने ५८ दशमलव ६३ प्रतिशतले गिरावट आएको छ।
गत आ.व.को सोही अवधिमा भने ४६ करोड ५८ लाख ५३ हजार मूल्य पर्ने २३७ वटा विधुतीय जीप, कार र भ्यानको आयात भएको थियो। ती सवारीसाधन आयात हुँदा कार्यालयले रू २० करोड ३५ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar