नाडा अटो शोमा गोगोरोको इनोभेटिभ स्मार्टस्कुटर र ब्याट्री स्वापिङ टेक्नोलोजीको लन्च

काठमाडौं ।  सस्टेनेबल मोबिलिटीका लागि विश्वव्यापी अग्रणी गोगोरो इंक (Nasdaq: GGR) र नेबुला इनर्जीले नेपालको राजधानी काठमाडौंमा गोगोरोका अत्याधुनिक स्मार्टस्कुटर र ४५ नयाँ ब्याट्री स्वापिङ स्टेसनहरूको लन्च घोषणा गरेका छन्। नाडा अटो शोमा गोगोरोको M3 स्टलमा आयोजित विशेष मिडिया अन्तरक्रियामा उक्त घोषणा गरिएको हो।


गोगोरो र नेबुला इनर्जीले गोगोरोका तीन प्रमुख स्कुटर मोडलहरू – पल्स, जेगो, र जीएक्स २५० – नेपाली बजारमा सार्वजनिक गरेका छन्। यी स्कुटरहरू नयाँ पिढीका विद्युतीय सवारी साधनको रूपमा परिचित छन्, जसले सवारी साधनको वातावरणीय प्रभावलाई न्यून गर्दै नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधनहरूको प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्य राख्छन्।

नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा महत्वपूर्ण योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै, “गोगोरोको स्मार्टस्कुटरहरूले सस्टेनेबल मोबिलिटीलाई नयाँ युगमा प्रवेश गराउनेछन्,” भने। उनले थपे, "ब्याट्री-स्वापिङ टेक्नोलोजीले नेपाली उपभोक्ताहरूलाई दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरू प्रयोग गर्न प्रोत्साहित गर्नेछ, जसले विद्युतीय सवारी साधनको लागि सबैभन्दा ठूलो बाधा – ब्याट्रीको स्वामित्व – लाई समाधान गर्नेछ।"

गोगोरोका प्रबन्ध निर्देशक सहायु गोयलले पनि दुई पाङ्ग्रे ईभीको व्यापक प्रयोगका लागि प्रविधिमा सक्षम हुनुपर्ने आवश्यकता औंल्याउँदै, गोगोरोको ब्याट्री-स्वापिङ टेक्नोलोजीले विद्युतीय सवारी साधन खरिदकर्ताहरूका लागि सरल र सहज समाधान प्रदान गर्ने बताए।

नेबुला इनर्जीले सेप्टेम्बरको मध्यमा नक्सालको नारायणचौरमा पहिलो गोगोरो शोरुमको उद्घाटन गर्ने घोषणा गरेको छ। यस शोरुममा ग्राहकहरूले स्कुटरको परीक्षण र विशेष इन्ट्रोडक्टरी प्राइसमा प्रि-बुकिङ गर्न सक्नेछन्। दशैंपछि ग्राहकहरूले आफ्नो स्मार्टस्कुटरको डेलिभरी प्राप्त गर्नेछन्।

काठमाडौं उपत्यकाभरि ४५ वटा ब्याट्री स्वापिङ स्टेसनहरूको स्थापना गर्ने आफ्नो प्रतिबद्धता अनुरुप, नेबुलाले प्रत्येक २-३ किलोमिटरको दूरीमा एक ब्याट्री स्वापिङ स्टेसन उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ। यी स्टेसनहरू पेट्रोल पम्प, मार्ट, मल र अन्य साझा चासोका स्थानहरूमा राखिनेछन्, जसले गर्दा उपभोक्ताहरूले सजिलै आफ्नो स्कुटरको ब्याट्री स्वाप गर्न सक्नेछन्।

गोगोरो स्मार्टस्कुटरहरूको अर्को प्रमुख विशेषता भनेको ग्राहकहरूले ब्याट्री किन्ने झन्झट बिना नै स्कुटर चलाउन सक्ने छन्। गोगोरोले सुविधाजनक ब्याट्री सब्सक्रिप्सन योजना प्रदान गरेको छ, जसले ग्राहकहरूलाई स्वाप स्टेशनहरूको सम्पूर्ण नेटवर्कमा सहज पहुँच दिन्छ।

नेबुला इनर्जीले भविष्यमा पेट्रोल पम्पहरूको संख्याभन्दा धेरै ब्याट्री स्वापिङ स्टेशनहरू स्थापना गर्ने योजना पनि बनाएको छ, जसले नेपालमा विद्युतीय सवारी साधनहरूको प्रयोगलाई व्यापक रूपमा प्रवर्द्धन गर्नेछ।

प्रतिक्रिया