श्रमाधान रोजगार मेला - १४ हजार भन्दा बढीलाई रोजगार पाउने अपेक्षा

काठमाडौँ / श्रमाधान रोजगार मेलामा १४ हजार बढीले रोजगार पाउने अपेक्षा राखेको छ । आइतबार पत्रकार सम्मेलन गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मेलाबारे विवरण सार्वजनिक गर्दै रोजगारदाताबाट १४ हजार ७८८ श्रमिकको माग भएको बताएका हुन् । 

उक्त मेलामा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका सह सचिव एवं प्रवक्ता गोविन्द प्रसाद रिजालले ४१ हजार ३२५ जनाले मेलाको अवलोकन गरेको तथ्याङ्क सार्वजनिक गरे। यस्तै, मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्र सहितका ३२२ वटा स्टल राखिएको प्रवक्ता रिजालले जानकारी दिए। मेलामा विभिन्न शीर्षकमा ३६ वटा कार्यशाला पनि सञ्चालन गरिएको थियो। 

संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार गरी ३३५ संघ संस्थाहरूसँग सहकार्य गरिएको मेलाका संयोजक समेत रहेका रिजालले बताए। उनका अनुसार मेलाको कुल बजेट ९३ लाख ६ हजार ९६३ रहेकोमा ८५ लाख ३३ हजार ८६५ रूपैयाँ खर्च भएको छ।

प्रतिक्रिया