फूलपातीमा ‘ज्वाइँ साब’ आउँदै

काठमाडौँ।  वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा रहेको छ। चलचित्रको हालै सार्वजनिक ‘फर्स्ट लुक लुक’ र ‘टिजर’ले दर्शकहरूलाई उत्सुकता बढाएको थियो।

गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै चलचित्रको चर्चा बढेको हो। फूलपातीको अवसर पारेर आगामी असोज २४ गते रिलिज हुने तयारीमा रहेको ‘ज्वाइँ साब’को यो गीतले चलचित्रलाई थप उचाइमा पुर्याएको निर्देशक वसन्त निरौलाले बताउए। “यो गीत आएपछि हाइप झन् बढेको छ। अहिले विदेशबाट समेत चलचित्रको माग आइरहेको छ।” उनले  विदेशमा र स्वदेशमा चलचित्र एकै दिन रिलिज गर्ने तयारी रहेको बताए। 

चलचित्रको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले यसपटकको दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने विश्वास लिइएको छ। चलचित्रले दर्शकलाई फरक अनुभव दिने बताइएको छ। ‘ज्वाइँ साब’ चलचित्र रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा निर्माण गरिएको हो। 

यो चलचित्रमा जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको छ। बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको यस चलचित्रमा अभिनय रहेको छ। 

चलचित्रका कार्यकारी निर्माता विजय बस्याल र अन्य निर्मातामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ रहेका छन्। संगीत अर्जुन पोखरेल र महेश ताम्राकारको रहको छ भने द्वन्द्व निर्देशनमा सञ्जय थापा र छायाङ्कनमा श्याम तामाङ रहेका छन्। चलचित्र सम्पादन भने सन्देश शाहले गरेका हुन्।   

प्रतिक्रिया