स्वच्छ र व्यवसायमैत्री वातावरणले व्यवसाय र राजस्व दुवै बढ्छ: अध्यक्ष ढकाल

काठमाडौं। माघ १३- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वच्छ व्यवसायमैत्री वातावरण सिर्जना भए व्यवसाय र राजस्व दुवै बढ्ने धारणा राख्नुभएको छ। ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले व्यवसायिक वातावरण सुधार र आर्थिक गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष ढकालले राजस्व संकलनको वार्षिक र मासिक लक्ष्य तोक्नु मात्र पर्याप्त नभएको बताउँदै स्वच्छ व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारका गतिविधि केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले भने, “व्यापार सहजीकरण, स्वच्छ र निष्पक्ष राजस्व संकलन, समाजको सुरक्षा र संरक्षणमा ध्यान दिएर अगाडि बढ्नु दीर्घकालीन हितका लागि जरुरी छ।”

वैध व्यापार प्रवर्द्धन र अवैध व्यापार नियन्त्रणमा जोड, वैध व्यापारलाई प्रोत्साहित गर्दै अवैध व्यापार नियन्त्रणका लागि छिमेकी मुलुकहरूसँग द्विपक्षीय सम्झौता गरी स्वचालित डाटा आदानप्रदान गर्न सके समस्याहरू न्यूनिकरण गर्न सकिने उहाँको भनाइ छ। “खुला सिमाना, आयातमुखी राजस्व संरचना, र स्वदेशी उद्योग संरक्षणका लागि लागू भएका उच्च भन्सार दरले चोरी पैठारी र राजस्व जोखिम बढाइरहेको छ,” अध्यक्ष ढकालले भन्नुभयो।


व्यापार सहजीकरणका लागि एकद्वार प्रणालीको महत्व, एकद्वार प्रणाली कार्यान्वयनले आयात-निर्यातका प्रक्रियाहरू सहज बनाएको उल्लेख गर्दै उहाँले निकासीका लागि आवश्यक प्रमाणपत्रहरूलाई पनि प्रणालीमा समावेश गर्नुपर्ने बताउनुभयो। साथै, निर्माणाधीन आइसीपीहरूको शीघ्र निर्माण र अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाहरूको स्थापना र विस्तारमा सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

अध्यक्ष ढकालले हालै अध्यादेशमार्फत दुई दर्जनभन्दा बढी कानुनहरूमा भएको संशोधनले मुलुकमा सकारात्मक व्यवसायिक वातावरण सिर्जना गरेको निजी क्षेत्रले अनुभूति गरेको बताउनुभयो। महासंघले चालु आर्थिक वर्षको बजेट तर्जुमा गर्दा भन्सार महसुल ऐन, जाँचपास प्रक्रियाको समयसीमा, र अन्य नीतिगत सुधारका सुझाव राखेको स्मरण गर्दै उहाँले तीमध्ये धेरै विषय अझै सम्बोधन हुन बाँकी रहेको उल्लेख गर्नुभयो।

७३ वर्षअघि विश्व भन्सार परिषद्को पहिलो सम्मेलन भएको सम्झनामा मनाइने अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ढकालले राजस्व संकलनका लागि स्वच्छ र व्यवस्थित प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको हो।

प्रतिक्रिया