काठमाडौँ। गत कात्तिकमा देशभर ९७ हजार १९६ घर जग्गाको कारोबार भएको छ।
चाडपर्वको बिदा लगायतका कारणले मालपोत कार्यालय तुलनात्मक रूपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो। गत असोजमा १ लाख ८ सय ४८ कारोबार भएको थियो।
घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३३ हजार ५ सय १४ वटा लिखत पास भएका छन्। यस्तै, नामसारीतर्फ ३ हजार ३ सय ६२, हालसाविक २ हजार १ सय १४, रोक्कातर्फ २५ हजार ३० छन्।
विभागका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा सबैभन्दा बढी ४ हजार २ सय ६६ घर जग्गाको कारोबार भएको छ। मालपोत कार्यालय सुनसरीमा ३ हजार १ सय १५, बेलबारीमा २ हजार आठ सय २१, धनुषामा २ हजार १ सय ५८ वटा कारोबार भएका छन्।
सिर्दिबास मालपोत कार्यालय गोरखामा एउटा मात्रै कारोबार भएको विभागले जनाएको छ। सो महिना मालपोत कार्यालय मनाङमा १९, हुम्लामा १५, डोल्पामा १६, ओखलढुङ्गामा १७ वटा कारोबार भएका विवरण प्राप्त भएको छ।
सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने काठमाडौँ उपत्यकाका मालपोत कार्यालयमध्ये कलङ्कीमा १ हजार ६ सय ४९ घर जग्गाको कारोबार भएको छ। भक्तपुर मालपोतमा २ हजार ३ सय ४८, डिल्लीबजार कार्यालयले ९ सय ३९ वटा कारोबार गर्दा चाबहिल मालपोतमा १ हजार ४ सय २३ वटा कारोबार भएको छ।
विभागका अनुसार वि.सं. २०८० कात्तिकमा ७७ हजार १ सय ८५ घर र वि.सं. २०७९ कात्तिकमा ९७ हजार एक सय ९६ वटा कारोबार भएको थियो।
विभागका अनुसार यस वर्षको कात्तिकमा रू २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबर राजस्व सङ्कलन गरेको छ। घर जग्गाको कारोबारमा अपेक्षित रूपमा सुधार आउन नसकेको कारोबार तथा राजस्व सङ्कलनको प्रवृत्तिले देखाएको छ।
गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा पनि गिरावट आएको हो। असोजमा रू ३ अर्ब ८ करोड १२ लाख ४१ हजार चार सय ८१ बराबरको राजस्व सङ्कलन भएको थियो।
विभागका अनुसार काठमाडौँ उपत्यकाभित्रका ९ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलबाट रू २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व सङ्कलन भएको छ।
मालपोत कार्यालय गोटीखेल ललितपुरबाट रू ४ लाख ६७ हजार ७ सय २०, भक्तपुरले रू १७ करोड ६९ लाख २३ हजार छ सय ४५ र डिल्लीबजारले रू १५ करोड ७७ लाख २० हजार ५ सय ४५ बराबरको राजस्व सङ्कलन गरेका छन्।
विभागका अनुसार मालपोत कार्यालयले चाबहिलले रु २१ करोड ४२ लाख ४६ हजार ९ सय ९२, कलङ्कीले रू १७ करोड ८ लाख ४४ हजार ७ सय ५१, साँखु कार्यालयले रू ४ करोड ७९ लाख ५४ हजार ९ सय ४२, मनमैजु कार्यालयले रू पाँच करोड ५० लाख ९३ हजार ६ सय ३२, टोखा कार्यालयले रू ३ करोड ५७ लाख २७ हजार ६ सय ६५ बराबरको राजस्व सङ्कलन गरेका छन्। मुलुकभर १ सय ३३ वटा मालपोत कार्यालय रहेका छन्।