काठमाडौं । नेपाल पर्यटन बोर्ड र भारतीय राजदूतावास, काठमाडौंको सहकार्यमा पहिलो भारत–नेपाल पर्यटन मार्ट २०२४ सम्पन्न भएको छ। उक्त कार्यक्रमले नेपाल–भारत सर्किट पर्यटन प्रवर्द्धन र २०२५ मा उत्तर प्रदेश, भारतमा आयोजना हुने महाकुम्भको प्रचारप्रसारलाई प्राथमिकता दिएको थियो।
कार्यक्रमका क्रममा भारतका १३ प्रतिनिधि र नेपालका १२० टुर अपरेटरबीच बीटुबी (बिजनेस टु बिजनेस) सेसनको आयोजना गरियो। छलफलको मुख्य विषय स्थलमार्गबाट सीमापार पर्यटन प्रवर्द्धन गर्नेतर्फ केन्द्रित थियो। टुर अपरेटरहरूले रामायण र बुद्ध सर्किट पर्यटनका सम्भावनाबारे छलफल गरी दुवै देशका पर्यटकहरूका लागि नयाँ यात्रा योजनाहरूको प्रस्ताव गरे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले कार्यक्रमको समापन अवसरमा भारतीय पर्यटकको नेपाल पर्यटनमा ठूलो योगदान रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले दुवै देशको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, उनले कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा भारतीय राजदूतावासका चार्ज डे एफिएर्स प्रसन्न श्रीवास्तवले नेपाल–भारत धार्मिक तथा सांस्कृतिक सर्किटहरूको भौतिक र डिजिटल कनेक्टिभिटीमा जोड दिएको जानकारी दिए। उनले यसबाट दुवै देशका पर्यटन गतिविधि थप सुदृढ हुने अपेक्षा व्यक्त गरे।
उत्तर प्रदेश सरकारकी पर्यटन अधिकारी सुश्री कीर्तिले महाकुम्भ २०२५ को महत्त्वबारे जानकारी गराउँदै भारत भ्रमणका लागि आह्वान गरिन्। कार्यक्रममा इन्डियन काउन्सिल अफ कल्चरल रिलेसन (आईसीसीआर) का कलाकारहरूले आकर्षक भारतीय नृत्य प्रस्तुत गरे।
नेपाल पर्यटन बोर्डले सहभागी भारतीय क्रेताहरुलाई जनकपुर र काठमाडौंका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थानहरूको भ्रमण गराएर नेपालको पर्यटन स्थलहरूको महत्त्वबारे जानकारी गराएको थियो।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको सबैभन्दा ठूलो स्रोत भारत रहेको बताउँदै नेपाल–भारत पर्यटन प्रवर्द्धनका लागि विभिन्न प्याकेज र पहलहरू कार्यान्वयनमा ल्याइएको जानकारी दिए।
यस प्रकारका कार्यक्रमले दुवै देशका पर्यटन उद्योगलाई उन्नति दिन र आपसी सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास लिइएको छ।