काठमाडौँ। स्याङ्जाका तीन महिला क्रिकेटरलाई जनही रू एक/एक लाखका दरले पुरस्कार प्रदान गरिएको छ।
१९ वर्षमुनिका उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै युएईमा सम्पन्न टि–२० महिला क्रिकेट प्रतियोगितामा सहभागी स्याङ्जाका ३ जना खेलाडीलाई बुधबार एक कार्यक्रमका बीच पुरस्कार तथा सम्मान गरिएको हो।
शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदका क्षेत्रमा सक्रिय रहेका खुमा अर्याल फाउण्डेशनले उनीहरूलाई नगदसहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेको हो।
उक्त कार्यक्रममा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का ज्योत्सिना मरासिनी, पुतलीबजार–१३ की सिमाना केसी, कुसुम गोदार र स्याङ्जा क्रिकेट सङ्घका अध्यक्ष दिवाकर थापालाई पुरस्कार तथा सम्मान गरिएको खुमा अर्याल फाउण्डेशनले जनाकारी दिएको छ। संस्थाको छैटौँ स्थापना दिवसको सन्दर्भ पारेर बुधबार सम्मान गरेको हो।
युएईमा भएको यु–१९ टि–२० महिला विश्वकपको एसिया छनोटको उपाधि विजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेलमा पुग्न सफल नेपाली टिममा स्याङ्जाका ३ जना महिला खेलाडी पर्न सफल भएका थिए।
देशका लागि खेल्न पाउँदा आफूलाई गर्व लागेको र आगामी दिनमा खेल्नका लागि थप ऊर्जा मिलेको खेलाडी ज्योत्सिना मरासिनीले बताइन्। अबको समय मलेसियामा हुने एसिया कपको तयारीमा जुट्नुपर्ने उनले बताइन्।
महिला खेलाडीलाई स्याङ्जाको पुतलीबजार नगरपालिकाले जनही रू ३३ हजार ३ सय ३३ पुरस्कार तथा सम्मानस्वरुप प्रदान गर्ने निर्णय गरेको जनाइएको छ। नगर कार्यपालिकाले ३ जनालाई रू एकलाख प्रदान गर्ने निर्णय गरेकाले आगामी नगर सभाबाट खेलाडीलाई प्रदान गरिने छ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले जनही रू १५ हजार नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए। गाउँपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार एवं प्रदान गर्ने तयारी गरेको जनाएको छ। यसअघि स्याङ्जा जिल्ला खेलकुद विकास समितिले खेलाडीलाई सम्मान गरेको थियो।