छैटौँ संस्कृति मोडल युनाइटेड नेसन (संस्कृति एमयुएन) सम्पन्न, १९ विद्यालयका ४०० विद्यार्थीको सहभागिता

काठमाडौं, मंसिर १७ – संस्कृति इन्टरनेसनल स्कुलद्वारा आयोजित छैटौँ संस्कृति मोडल युनाइटेड नेसन (संस्कृति एमयुएन) कार्यक्रम मंसिर १२ देखि १४ सम्म सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यो कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकास, कूटनीतिक सोच, र समस्याको समाधान क्षमतामा टेवा पुर्‍याएको छ।

उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका विद्यालयहरूसहित बिर्तामोड, विराटनगर, पोखरा लगायत विभिन्न सहरका १९ विद्यालयका ४०० विद्यार्थीले सहभागिता जनाए। विद्यार्थीहरूले संयुक्त राष्ट्र संघका प्रतिनिधिहरूको भूमिका निर्वाह गर्दै जलवायु परिवर्तन, शान्ति स्थापना, मानव अधिकार, र शिक्षा जस्ता जटिल विषयमा छलफल गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका उपकुलपति भोला थापाले विद्यार्थीहरूको जोशप्रति प्रसंसा गर्दै बालबालिका र महिलाका अधिकारप्रति जिम्मेवार बन्न आग्रह गरे। संस्कृति इन्टरनेसनल स्कुलकी फाउन्डर डाइरेक्टर दीप्ति आचार्यले कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्दै यसले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा छलफल गर्ने क्षमता विकास गराएको बताइन्।


युनिसेफ नेपालका प्रतिनिधि चाहना सिंह राणाले कार्यक्रममा सहभागी विद्यार्थीको ऊर्जा र उत्साहलाई प्रशंसा गर्दै यसले अभिव्यक्तिको स्वतन्त्रता व्यवहारमा उतार्ने ज्ञान दिएको उल्लेख गरिन्।

संस्कृति एमयुएनको मुख्य उद्देश्य विद्यार्थीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतीहरू बुझ्ने, सहकार्य गर्ने, र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न प्रेरित गर्नु रहेको थियो। कार्यक्रमले विविध पृष्ठभूमिका प्रतिभावान युवाहरूलाई एकै ठाउँमा ल्याएर सहकार्य र समझदारीको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया