काठमाडौँ। नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू २ करोड सहयोग प्रदान गरेको छ।
नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उक्त चेक हस्तान्तरण गरे। बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो।
सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे। उनले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गरे।
यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाहरूबाट समेत प्राप्त भएको रू ३ करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो
मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरूपमा रू १ अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो। कोषमा अन्य संस्था र व्यक्तिहरूबाट समेत सहयोगको क्रम जारी छ।