काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड शुक्रबार सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर रु.१०० अंकित मूल्यमा १८,४५,००० कित्ता साधारण शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिएको थियो ।
कम्पनीको आईपीओमा मिति २०८१ फागुन ११ देखि फागुन १५ गतेसम्म आवेदन खुला गरिएको थियो । सो अवधिमा कुल १८,१७,१४८ जना आवेदकले २,२४,४६,३५० कित्ता शेयरका लागि आवेदन दिएका थिए । तीमध्ये १०,३८६ जना आवेदकले गरेको १,७१,९६० कित्ता शेयर आवेदन रितपूर्वक नभएका कारण रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ । बाँकी १८,०६,७६२ जना योग्य आवेदकमध्ये गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले जारी गरेको २२,५०,००० कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात २,२५,००० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ३ प्रतिशत अर्थात ६७,५०० कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १,१२,५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी १८,४५,००० कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिएको हो ।
आईपीओ बाँडफाँडपछि आवेदन दिएका धेरै लगानीकर्ताहरूले शेयर प्राप्त गर्न नसकेको कारणले बजारमा उत्सुकता देखिएको छ । आईपीओ बाँडफाँडको नतिजा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल, नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा सिडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।