देशभर मौसम बदलीको संकेत, हिमपात र चिसो बढ्ने सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आइतबार साँझदेखि देशभर मौसममा बदलीको संकेत देखिएको जानकारी गराएको छ। विभागले हिउँदे मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना रहेको जनाएको छ।

विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आइतबार साँझदेखि सोमबार रातिसम्म हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा पनि हिमपातको सम्भावना रहेको छ।

विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने प्रक्षेपण गरिएको छ।

चिसो बढ्ने चेतावनी

विभागले यस प्रणालीको प्रभावका कारण तापक्रममा गिरावट आउने र चिसो बढ्ने सम्भावना रहेको जनाएको छ। विशेष बुलेटिनमा वर्षा, हिमपात र चिसोले जनजीवन, स्वास्थ्य, पर्वतारोहण तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले सतर्क रहन सर्वसाधारण र सरोकारवालालाई अनुरोध गरिएको छ।

अनुगमन र अद्यावधिक जानकारी

मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ। विभागले दैनिक जारी गर्ने तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा पनि यो जानकारी नियमित रूपमा अद्यावधिक गरिने जनाएको छ।

आजको मौसम

विभागका अनुसार आज राति देशका अधिकांश भूभागमा मौसम सफा रहनेछ भने पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

आइतबार बिहान पनि कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली हुने र अन्य स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। साथै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।

सर्वसाधारणलाई सतर्क रहन र अत्यावश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया