नेपालको रियल इस्टेट व्यवसायलाई उत्पादनमूलक क्षेत्र बनाउने प्रयास: महासंघको बैठक हेटौंडामा सम्पन्न

मकवानपुर | माघ ४, हेटौंडा – नेपाल जग्गा तथा आवास विकास महासंघको केन्द्रिय कार्यसमितिको दोश्रो बैठक मकवानपुर घरजग्गा व्यवसायी संघको आयोजनामा माघ ४ गते हेटौंडामा सम्पन्न भयो। बैठकको अध्यक्षता महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले गरेका थिए भने प्रमुख अतिथिका रूपमा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ उपस्थित थिए। कार्यक्रममा देशभरबाट करिब १५० जना रियल इस्टेट व्यवसायीहरूको सहभागिता रह्यो।

महासंघका वरिष्ठ उपाध्यक्ष विदुर धमला र उपाध्यक्ष दीपक कुँवरले घरजग्गा व्यवसायलाई उत्पादनमूलक र पूर्वाधार निर्माण उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै यसका लागि स्थानीय, प्रदेश, र संघीय सरकारसँग सहकार्य आवश्यक रहेको बताए। उनले व्यवसायलाई सम्मानित र मर्यादित बनाउँदै राष्ट्रको आर्थिक प्रगतिको मुख्य आधारका रूपमा अघि बढाउन महासंघ प्रतिबद्ध रहेको उल्लेख गरे।

हेटौंडाका स्थानीय निकायका प्रतिनिधिहरूले रियल इस्टेट व्यवसायलाई व्यवस्थित गर्न महासंघले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए। हेटौंडा उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष दीपक खड्का, भूमि आयोगका पूर्व अध्यक्ष विष्णु दाहाल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष कृष्णसारू मगर, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद भट्ट, र बाग्मती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले हेटौंडालाई व्यवस्थित शहरी विकासका लागि उपयुक्त क्षेत्रका रूपमा प्रस्तुत गरे।

कार्यक्रमका प्रमुख अतिथि उपमेयर राजेश बानियाँले हेटौंडामा व्यवस्थित बस्ती विकासको उच्च संभावना रहेको र यसलाई मूर्त रूप दिन उपमहानगरपालिका आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए। उनले रियल इस्टेट व्यवसायीहरूको समस्यालाई समाधान गर्न नीतिगत स्थायित्व आवश्यक रहेको र यसतर्फ स्थानीय सरकार सकारात्मक रहेको उल्लेख गरे।

बाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री अमन मास्केले प्रदेश सरकारले भूमि, भवन, र शहरी विकाससम्बन्धी नीतिहरू सुधार गर्न पहल गरिरहेको जानकारी दिए। उनले हेटौंडालाई स्मार्ट सिटीका रूपमा विकास गर्न प्रदेश सरकार तयार रहेको र यसका लागि व्यवसायीहरूका सुझावलाई प्राथमिकता दिइने बताए। मन्त्री मास्केले जग्गा हदबन्दी फराकिलो बनाउनु पर्ने र प्रदेशले नीति निर्माणका लागि कार्यदलको सल्लाहअनुसार अघि बढ्ने बताए।

बैठकमा महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले महासंघको सदस्यता लिने कम्पनीहरूलाई प्रमाणपत्र र मकवानपुरका संघसंस्थाका प्रतिनिधिहरूलाई सम्मानपत्र वितरण गरे।

माघ ३ गते बैठकको पूर्वसन्ध्यामा बाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री, हेटौंडा उपमहानगरपालिकाका मेयर र उपमेयर तथा महासंघका पदाधिकारीहरूबीच अनौपचारिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा मेयर मीना लामाले भूउपयोग ऐनअनुसार जग्गा वर्गीकरणको कार्य सम्पन्न भएको र हेटौंडालाई नमूना शहर बनाउन निजी क्षेत्रसँग सहकार्य गरिने बताइन्।

महासंघका अध्यक्ष घिमिरेले बैठकको समापन गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे। उनले रियल इस्टेट व्यवसायीहरू स्थानीय, प्रदेश, र संघीय सरकारसँग सहकार्य गर्न सधैं तयार रहेको र व्यवसायलाई मर्यादित तथा सम्मानित बनाउँदै अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।


प्रतिक्रिया