नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षणमा सुधारको सरकार र निजी क्षेत्रले प्रतिवद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेइजिंगमा आयोजित नेपाल-चीन बिजनेस समिटले द्धिपक्षीय व्यापार, लगानी विस्तार, र आर्थिक सहकार्यलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रका सम्भावनाबारे छलफल गरियो।

नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोशन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी), र चीनस्थित नेपाली दूतावासको संयुक्त आयोजनामा सम्पन्न समिटमा प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको बताउँदै विदेशी लगानीकर्तालाई आकर्षित गर्न आग्रह गर्नुभयो। उहाँले कृषि, जलविद्युत, पर्यटन, र सूचना प्रविधि क्षेत्र नेपालमा लगानीका लागि आकर्षक रहेको जनाउनुभयो।


समिटलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समयमा नेपालमा व्यवसायिक वातावरण निर्माणका लागि भएका नीतिगत सुधारका बारेमा जानकारी गराउनुभयो। उहाँले नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र, र थिम पार्कजस्ता परियोजनामा विदेशी लगानीका लागि अवसर रहेको बताउनुभयो।

चीनले नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार र लगानीकर्ता देशको रूपमा निरन्तर सहकार्य गरिरहेको उल्लेख गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिंग जीले दुवै देशबीच व्यापार घाटा कम गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। साथै, नेपालबाट कृषिजन्य उत्पादनहरू आयातका लागि प्रयास गर्ने बताउनुभयो।

समिटका प्रमुख बिन्दुहरू:

  • चीनले नेपाललाई भन्साररहित सुविधा दिने निर्णयले व्यापार प्रवर्द्धनमा थप टेवा पुर्‍याउने अपेक्षा।
  • नेपालमा सीमा क्षेत्रको पूर्वाधार स्तरोन्नति, र सिधा हवाई उडान विस्तारका लागि दुई देशका निजी क्षेत्र र सरकारको सक्रियता आवश्यक।
  • महासंघ र सिसिपिआइटीको सहकार्यमा आर्थिक साझेदारीका विविध कार्यक्रमहरू सञ्चालन गर्ने योजना।
  • नेपाल-चीन व्यापार घाटा घटाउन, र नेपाली उत्पादनहरूको बजार विस्तार गर्न ठोस पहलको माग।

समिटमा १२० चिनियाँ व्यवसायी र ५० भन्दा बढी नेपाली उद्यमीहरूको सहभागिता थियो। समिटअघि बिजनेस टु बिजनेस बैठकले दुवै पक्षका लगानीकर्ताबीच प्रत्यक्ष संवादको अवसर प्रदान गर्‍यो। 

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आयोजित यो समिटले नेपाल-चीन व्यापार सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।

#fncci

प्रतिक्रिया