काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। हाल देशभर सामान्य बदली देखिएको छ, र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही, कोशी र कर्णाली प्रदेशका थोरै, गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेशमा दिउँसो र राति हिमाली र पहाडी क्षेत्रमा मध्यमदेखि भारी, तराईमा मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशमा दिउँसो तराईमा थोरै स्थानमा मध्यम र राति मध्यमदेखि भारी वर्षाको जोखिम छ। बागमती र गण्डकी प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा मध्यम, तराईमा थोरै स्थानमा मध्यम, र राति हिमाली र पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा मध्यमदेखि भारी, तराईमा मध्यम, र राति हिमाली र पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा सम्भावित छ। कर्णाली प्रदेशमा दिउँसो र राति हिमाली र पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुन सक्छ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकोले बाढी, पहिरो र जनजीवनमा असर पर्न सक्छ। सर्वसाधारण र सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना नियमित जाँच गरी सतर्क रहन विभागले अनुरोध गरेको छ।