काठमाडौं। विश्वप्रसिद्ध रेफ्रिजेरेसन उपकरण निर्माता कम्पनी आइसमेक रेफ्रिजेरेसन इन्डिया को आधिकारिक वितरकको रूपमा नेपालमा आरएम एग्रोटेक नियुक्त भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डा स्थित आरएम एग्रोटेकले लामो समयदेखि नेपाली कृषकहरूलाई विभिन्न कृषि उपकरणहरू, प्रविधिहरू र परामर्श सेवा प्रदान गर्दै आएकोमा अब गुणस्तरीय कोल्ड स्टोर र चिलिङ प्लान्टसमेत उपलब्ध गराउने भएको हो।
आइसमेक इन्डिया विगत ३२ वर्षदेखि अन्तर्राष्ट्रिय स्तरमा रेफ्रिजेरेसन फ्रिजर, कोल्ड स्टोर, ट्रान्सपोर्ट रेफ्रिजेरेसन, चिलिङ प्लान्ट लगायतका सामग्री उत्पादन गर्दै आएको कम्पनी हो। कम्पनीले भारतमा दुईवटा विशाल प्लान्टमार्फत उत्पादन गरिरहेका यी उपकरण विश्वका कैयौँ देशमा निर्यात हुँदै आएका छन्।
आरएम एग्रोटेकका प्रबन्धक प्रकाश मेहताका अनुसार अबदेखि आइसमेक इन्डियाद्वारा उत्पादित सम्पूर्ण उत्पादनहरू नेपालभर आरएम एग्रोटेकमार्फत बिक्री वितरण गरिनेछ। उनले भने, "हामी किसानहरूको उत्पादनको संरक्षण र मूल्य अभिवृद्धिमा योगदान पुर्याउने उद्देश्यले आइसमेकसँग सहकार्यमा अघि बढेका छौँ।"
कृषकहरूले उत्पादन गरेको तरकारी, फलफूल, दुग्ध पदार्थ आदि लामो समयसम्म भण्डारण गर्न सक्ने गुणस्तरीय कोल्ड स्टोर प्रविधिको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले यो सहकार्य सुरु गरेको हो। हालसम्म पनि आरएम एग्रोटेकले किसानहरूका लागि विविध कृषि उपकरण तथा प्रविधिहरू उपलब्ध गराउँदै आएको छ।
कम्पनीको लक्ष्य किसानको घरदैलोमै परामर्श तथा सेवा पुर्याउनु रहेको छ, जसले कृषि उत्पादनको दीर्घकालीन भण्डारण र बजारीकरणमा सहजता ल्याउनेछ। अब नेपालमा समेत आइसमेकका ५० भन्दा बढी उत्पादनहरू उपलब्ध गराइनेछ, जसले कृषकहरूको श्रम र लगानी सुरक्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ।