काठमाडौँ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा चितवन महोत्सव–२०८१ आगामी पौष २५ देखि माघ १० गतेसम्म (९–२३ जनवरी २०२५) नारायणी नदी किनारमा आयोजना हुने भएको छ। यो महोत्सव १५ औं संस्करणका रूपमा मनाइनेछ।
आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको विस्तृत जानकारी दिइएको थियो। यस वर्षको महोत्सवमा अन्तर्राष्ट्रिय व्यवसायिक प्रतिष्ठानको उल्लेख्य सहभागिता रहनेछ। चीनका उद्योग वाणिज्य संघहरूको समन्वयमा विभिन्न चिनियाँ उत्पादनहरूको प्रदर्शनीसहित चिनियाँ प्याभिलियन, ७ विशेष स्टल, डोम, कृषि परिसर, अटो परिसर, निर्माण एक्स्पो, घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामग्रीका स्टल, रेस्टुरेन्ट परिसरसहित ४३० वटा स्टल रहने जानकारी आयोजकहरूले दिएका छन्।
फुड फेस्टिभल र सेमिनारहरू, महोत्सव अवधिमा परम्परागत खानाको प्रवर्द्धन गर्ने उद्देश्यले पौष २९ देखि माघ ७ सम्म क्याम्पाचौर नारायणगढमा फुड फेस्टिभल आयोजना गरिनेछ। त्यस्तै, पौष २९ देखि माघ ४ गतेसम्म दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरू हुनेछ। यी कार्यक्रमहरूले चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, र सामाजिक–आर्थिक विकासका सम्भावनाहरू उजागर गर्ने आयोजकहरूले बताएका छन्।
अर्थतन्त्र र उद्यमशीलता प्रवर्द्धन, चितवन महोत्सव–२०८१ का मुख्य संयोजक सुमन श्रेष्ठले महोत्सवले जिल्लाको आर्थिक गतिविधिलाई चलायमान बनाउने र उद्यमशीलताको विकासमा योगदान पुर्याउने बताए। उद्योग वाणिज्य महासंघकी एसोसियट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले यस्ता महोत्सवले स्वदेशी वस्तुको अन्तर्राष्ट्रियकरण र निर्यात प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।
स्टार्टअप र उद्यमशीलताको प्रवर्द्धन, यस महोत्सवमा नव उद्यमीहरूको पहिचान र प्रवर्द्धनका लागि विशेष स्टार्टअप कार्यक्रम समावेश गरिएको छ। महोत्सव अवधिमा उद्यम गर्न चाहने युवाहरूको तथ्यांक संकलन गरिने आयोजक उपाध्यक्ष राजेन्द्र ओलीले जानकारी दिए।
मुख्य साझेदार र प्रायोजक, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति, चितवनले महोत्सवलाई मुख्य प्रवर्द्धन गरेका छन् भने ग्लोबल आईएमई बैंक यसपटकको महोत्सवको मुख्य प्रायोजक हो।
चितवन महोत्सव–२०८१ ले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय उत्पादन र सेवाहरूको प्रचारप्रसार गरी जिल्लाको समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।