भाद्र १३ देखि भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु, दशैं अफरसहित १००+ स्टल

काठमाडौं। शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण आयोजना हुँदैछ। मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स, र एक्जिबिसन एण्ड ट्रेड सर्विसेस इंडिया प्रा. लि. को संयुक्त आयोजनामा भाद्र १३, १४ र १५ गते यो प्रदर्शनी आयोजना गरिनेछ।

प्रदर्शनीमा नेपाल विद्युत प्राधिकरण र नेपाल सौर्य विद्युत उत्पादक संघले सहयोगी संस्थाको भूमिका निर्वाह गर्नेछन्। १०० भन्दा बढी स्वदेशी र विदेशी कम्पनीका स्टलहरू रहने यो प्रदर्शनीमा ट्रान्समिसन, डिष्ट्रिब्यूसन सामग्री, उर्जा आपूर्ति डिभाइस, हाउस वायरिङ सामग्री, तार-केबल, स्वीच, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय सामान, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि र अन्य नवीनतम विद्युतीय उत्पादनहरू प्रदर्शन गरिनेछ।

आयोजकले यो प्रदर्शनीमार्फत बढ्दो जलविद्युत उत्पादनको खपत बढाई आर्थिक सशक्तीकरण गर्ने, उर्जा र विद्युतीय व्यवसायको विकास गर्ने, र आन्तरिक-अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्ने लक्ष्य राखेका छन्। साथै, विद्युतीय उपकरणको प्रोत्साहन, गुणस्तरयुक्त सामग्रीको व्यवसाय विस्तार, र उर्जाको व्यवस्थित खपतबारे जनचेतना फैलाउने योजना छ।

दशैं नजिकिँदै गर्दा आयोजित यो प्रदर्शनीमा ग्राहकले विभिन्न कम्पनीका नवीनतम विद्युतीय सामान एकै ठाउँमा हेर्न र सुलभ मूल्यमा खरिद गर्न सक्नेछन्। यो अवसरले उपभोक्तालाई दशैंको तयारीमा विशेष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि, र वैकल्पिक उर्जा उद्यमीहरूबीचको जमघटले व्यवसायिक प्रवद्र्धन, नवीनतम उपलब्धि आदान-प्रदान, र आपसी साझेदारीको आधार तयार गर्नेछ।

प्रतिक्रिया