काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८१ को पहिलो महिना अर्थात् साउनमा देशभर ४३ हजार आठ सय ३५ संख्यामा घरजग्गा कारोबार भएको छ।
यो गत आर्थिक वर्ष २०८०/८१ को सोही महिनाको तुलनामा ११.६४ प्रतिशतले बढी हो। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्क अनुसार गत वर्ष साउनमा देशभर ३९ हजार दुई सय ६३ संख्यामा कारोबार भएको थियो।
विभागको तथ्याङ्कअनुसार समग्र कित्ताकाट र कारोबारको तुलनामा दुवैको लिखत पारित (सोही महिनामा मात्रै नयाँ भएको कारोबार वा कित्ताकाट) बढेको छ। समग्र कारोबार र कित्ताकाटमा नामसारी, संशोधन, हाल साविक, जग्गा बाँडफाँटलगायत हुन्छ। यसरी हेर्दा कित्ताकाट र कारोबारको लिखत पारित भने बढेको छ ।
नेपाल घरजग्गा आवास विकास महासंघका अनुसार अघिल्लो दुई आर्थिक वर्षका साउन महिनाको तुलनामा यस वर्षको साउनमा बढेको घरजग्गा कारोबार बढेको देखिएको छ। घरजग्गा कारोबारका लागि साउन महिना ‘अफसिजन’ भएतापनि कारोबार बढेको छ।
महासंघका अनुसार साउन महिना अफसिजन भए पनि अघिल्लो बर्षको तुलनामा यस बर्षमा कारोबार बढेको, तर २०८१ असारको तुलनामा भने कारोबार, कित्ताकाट राजस्व घटेको छ। २०८१ असारमा देशभरको मालपोत कार्यालयबाट ४६ हजार १७९ संख्यामा कारोबार भएको थियो।
राजस्व ३१ प्रतिशतले बढ्यो
२०८० को साउन महिनामा कारोबारमा आएको सुधारसँगै राजस्व संकलन पनि उल्लेख्य वृद्धि भएको छ। साउनमा सरकारलाई घरजग्गा कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।
विभागको अनुसार यो गत बर्ष (२०८०) को साउन महिनाको तुलनामा ३१.७७ प्रतिशतले बढी हो। गत साउनमा २ अर्ब ९१ करोड ४ लाख २७ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबभन्दा बढी रजिष्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।
साउनमा सरकारले सेवाकरवापत २६ करोड ६८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। त्यसैगरी, रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब ५५ करोड १९ लाख ५१ हजार रुपैयाँ कर उठाएको छ।
देशभरका मालपोत कार्यालयहरुले साउनमा पुँजीगत लाभरवापत १ अर्ब ३४ कारेड ६९ लाख ४८ हजार रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कवापत ३ करोड ६० लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।